
सुनसरी । सुनसरीको दुहबी नगरपालिका-३ मुक्तिनाथ मन्दिर छेउमा एक व्यक्तिले श्रीमतीलाई शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन् ।
बिहीबार घरायसी विवादका क्रममा ३३ वर्षीय मुस्तफा सेखले २८ वर्षीया श्रीमती खुस्बु खातुनलाई शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन् । आगोले जलेर खुस्बु गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ ।
घटनाको बारेमा छिमेकीले थाहा पाएपछि प्रहरीलाई खबर गरेर बोलाएका थिए । लगत्तै खटिएको प्रहरी टोलीले उनलाई उद्दार गरेर नजिकैको सामुदायिक अस्पतालमा उपचारका लागि पठाएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई विराटनगरस्थित पारस अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले घाइतेको अवस्था सुधारोन्मुख हुँदै गएको छ ।
‘मुस्तफा रोजगारीका लागि एक डेढ वर्षदेखि भारतमा गएका रहेछन्’, इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर शिवराम थापाले संगालोखबरसँग भने, ‘उनी रोजगारीबाट हिजो नै फर्किएको भन्ने जानकारी प्राप्त भएको छ । शङ्काको कारण घटना घटेको देखिन्छ ।’
प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमती पर पुरुषसँग लागेको आशंकामा पेट्रोल छर्केर आगो लगाएको खुलेको उनले बताए । श्रीमतीलाई आगो लगाउने मुस्तफालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।

संगालोखबर 













