
धनकुटा । धनकुटा नगरपालिका-९ मूलघाटका क्यान्सर पीडित बालकलाई निर्माण व्यवसायी संघ धनकुटाले सहयोग गरेको छ । मुखको क्यान्सरबाट पीडित ८ वर्षीय अभिषेक श्रेष्ठलाई निर्माण व्यवसायी संघले ६४ हजार रुपैयाँ सहयोग गरेको हो ।
संघले ३० हजार पाँच सय र व्यवसायीहरूबाट ३३ हजार पाँच सय रुपैयाँ गरेर जम्मा ६४ हजार रुपैयाँ सहयोग गरिएको छ । संघका सदस्य समेत रहेका अनु एण्ड अभि कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर विजय श्रेष्ठका छोरा अभिषेक मुखको क्यान्सरबाट पीडित भइ भारत स्थित दिल्लीमा उपचाररत छन् ।
उनको उपचार प्रक्रिया लामो तथा खर्चिलो भएकाले सहयोगको आवश्यकता देखिएपछि मानवीय उत्तरदायित्वलाई ध्यानमा राख्दै सहयोग जुटाएको संघका अध्यक्ष प्रकाश थुलुङले जानकारी दिए ।
मानवीय सहयोगलाई प्राथमिकता दिँदै संघका सदस्यका छोरालाई उपचारका लागि आर्थिक सहयोग र सहयोगको अपिल समेत गरिएको उनको भनाइ छ । थोरै रकम भएपनि पनि उपचारमा केही सहज होस् भन्ने उद्देश्यले सहयोग रकम बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको थुलुङले जानकारी दिए ।
त्यस्तै लडेर गम्भीर घाइते भएका निर्माण व्यवसायी संघ धनकुटाका सल्लाहकार हर्कबहादुर राईको उपचारका लागि पनि आर्थिक संकलन भइरहेको उनले बताए । सहयोग संकलन पश्चात अस्पतालमै पुगेर रकम हस्तान्तरण गरिने उनको भनाइ छ ।

संगालोखबर 













