
विराटनगर । विराट ट्रेड एक्स्पोमा उद्योग र व्यापारसँग सम्बन्धित थिमेटिक सेसनसुरु भएको छ । मोरङ उद्योग व्यापार संघको आयोजनामा बुधबारदेखि सुरु भएको एक्स्पोअन्तर्गत आज विभिन्न विषयमा केन्द्रित सेसनको उद्घाटन गरिएको हो ।
सेसनको उद्घाटन संघका अध्यक्ष अनुपम राठी र प्रमुख अतिथि संघका पूर्वअध्यक्ष शंकरलाल अग्रवालले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा बोल्दै संघका अध्यक्ष राठीले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले यस वर्ष अलग्गै सेसन समावेश गरिएको बताए ।
कार्यक्रम संयोजक अनिल शारडाले एक्स्पो अवधिभर नियमित रूपमा थिमेटिक सेसन सञ्चालन गरिने जानकारी दिए । पहिलो दिनको पहिलो सेसन ‘महिला उद्यमशीलता : चुनौती, अवसर र सफलताका कथा’ विषयमा केन्द्रित थियो ।
‘माई भ्वाइस, माई स्टोरी’ शीर्षकमा भएको छलफलको सहजीकरण श्रुती शर्माले गरेकी थिइन् । सहभागी वक्ताहरूले महिला उद्यमशीलता अझै अपेक्षित रूपमा नबढे पनि सम्भावनाका ढोका खुला रहेको धारणा राखे ।
सेसनकी किनोट स्पिकर विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले आफ्नो उद्यमशीलता र राजनीतिक यात्राको अनुभवबारे जानकारी गराइन । ‘म विद्यार्थी हुँदा राजनीतिमा आउने कल्पना नै थिएन’, उनले भनिन्, ‘विवाहपछि करिअर सकिन्छ भन्ने सोच गलत हो । मैले विवाहपछि नै धेरै उपलब्धि हासिल गरेँ ।’
फेसन डिजाइनिङप्रतिको रुचि, पारिवारिक व्यवसाय, बुटिक र उद्योग सञ्चालनदेखि राजनीतिसम्मको यात्राबारे उनले सुनाइन् । उनले महिला उद्यमीलाई सन्देश दिँदै नेपालमा काम गर्ने वातावरण छैन भन्ने नभएर आफैँ बाटो आफैं बनाउनुपर्ने बताइन् ।
लिलिपुट प्रिमियर स्कुलकी सञ्चालक अमिना तिम्सिनाले शिक्षा क्षेत्रमा डेढ दशक अघिदेखिको उद्यमशील यात्राबारे आफ्ना अनुभव आदान-प्रदान गरिन् । उनले शिक्षा क्षेत्रमा सफलता एकदिनको प्रयासले नभएर निरन्तरको मेहनतले हुने बताइन् ।
धरानकी उद्यमी तथा ‘मनतुना चकलेट’ ब्रान्डकी सञ्चालक अंकिता गिरीले आफ्नो संघर्षपूर्ण यात्रा सुनाइन् । ‘ब्रान्ड बनाउन सजिलो थिएन, दुर्घटना र असफलतासमेत भोगेँ’, उनले भनिन्, ‘तर सपना बुन्न छाडिनँ । सानोबाट सुरु गर्नुहोस्, एकदिन त्यो ठूलो बन्छ ।’
रिट कस्मेटिक्सकी सञ्चालक अञ्जना कट्टेल सुवेदीले उद्यमी बन्नुअघि कर्मचारीको अनुभव अनिवार्य हुने धारणा राखिन् । कम्फर्ट जोनबाट बाहिर ननिस्केसम्म महिलाहरूले धेरै काम गर्न नसक्ने बताउँदै आफू पहिले कर्मचारीको रूपमा कार्य गर्दै उद्यमी बनेको बताइन । उनले चुनौतीलाई अवसरका रूपमा लिएर अघि बढ्न सक्नुपर्ने धारणा राखिन् ।
बारी रोस्टरीकी सञ्चालक डिना प्रधानले नेपाली कफीलाई ब्रान्ड बनाउने यात्राबारे आफ्ना अनुभव साटासाट गरेकी थिइन । सफ्टवेयर उद्यमी लुबिना शर्माले आईटी क्षेत्रमा महिला सहभागिता अझै कम भए पनि सम्भावना प्रशस्तै रहेको बताइन् ।
संघका अनुसार शुक्रबार आईटी, साइबर सेक्युरिटी, एआई, डिजिटल मार्केटिङ, ई-कमर्स र स्टार्टअप आइडिया पिचिङसम्बन्धी सेसन हुनेछन् । सरकारले ल्याएका नीतिले उद्यमशीलता कसरी बढाउँछ भन्ने विषयमा समेत छलफल गरिनेछ ।

संगालोखबर 













