
विराटनगर । विराटनगरमा यही पुस ९ देखि १९ गतेसम्म आयोजना गर्न लागिएको विराट ट्रेड एक्स्पोमा ‘वीटीई स्टार्टअप फेष्ट’ पनि आयोजना गरिने भएको छ । उद्यमशीलता, नवप्रवर्तन र नयाँ सोचलाई प्रवद्र्धन गर्ने उद्देश्यले मोरङ उद्योग वाणिज्य संघको आयोजना तथा आइडिया स्टुडियोसंगको सहकार्यमा स्टार्टअप फेष्ट गर्न लागिएको हो ।
स्टार्टअप फेस्टमा नयाँ व्यवसायिक आइडिया भएका युवा, विद्यार्थी तथा नव–उद्यमीहरूलाई लक्षित गरी आइडिया प्रस्तुतिदेखि व्यवसायिक पिचसम्मको अवसर प्रदान गरिने मोरङ उद्योग व्यापार संघका प्रमुख कार्यकारी अधिकृत भरत शर्माले जानकारी दिए । उनका अनुसार कार्यक्रममा सहभागीहरूले आवश्यक मार्गदर्शन, सशक्त नेटवर्क, क्षमता विकास तथा दीर्घकालीन व्यवसायिक अवसरहरू प्राप्त गर्नेछन् ।
कार्यक्रमको प्रक्रिया अनुसार पुस १० गतेसम्म आइडिया सबमिट गर्न सकिनेछ । पुस ११ मा हुने स्क्रिनिङ तथा लाइभ अडिसनबाट छनोट भएका सहभागीहरूका लागि पुस १३ गते इन्क्युबेशन तथा बुटक्याम्प कार्यक्रम मोरङ उद्योग वाणिज्य संघको समृद्धि हलमा आयोजना गरिनेछ । अन्तिम चरणको फाइनल बिजनेस पिच भने पुस १५ र १६ गते विराट ट्रेड एक्स्पोको सेमिनार हलमा हुनेछ ।
वीटीई स्टार्टअप फेष्टले सहभागीहरूलाई इन्क्युबेशन, स्रोत तथा साधनमा पहुँच, नेटवर्किङ, बजारमा पहिचान र भ्यालिडेसन तथा बजार पहुँचजस्ता महत्वपूर्ण अवसरहरू प्रदान गर्ने आयोजकको भनाई छ । यसले कोशी प्रदेशमा उद्यमशील संस्कृति विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

संगालोखबर 













