
विराटनगर । विराटनगर-४ स्थित नोबेल अस्पताल नजिकबाट ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगर गाउँपालिका-७ का ५२ वर्षीय हबिब खाँ र हरिनगर-४ का ३० वर्षीय इरसाद आलम छन् ।
उनीहरूलाई लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । प्रहरीले हबिबको साथबाट १ सय ३१ ग्राम ब्राउन सुगर बरामद गरिएको जनाएको छ ।
सडक छेउमा मोटरसाइकल रोकेर शंकास्पद अवस्थामा गफ गरिरहेका उनीहरूलाई प्रहरीले चेकजाँच गरेको थियो । उनीहरूले प्रयोग गरेको को २७ प ६४८१ र बीआर १९ वाई ९५३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको मोरङ प्रहरीका निमित्त प्रमुख एवं डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 












