
विराटनगर । जेनजी आन्दोलनका क्रममा सार्वजनिक, सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटमा संलग्नलाई कारबाहीको माग गर्दै नेकपा एमाले मोरङले प्रहरीमा जाहेरी दिएको छ ।
एमालेका १४ वटा जनसंगठनका अध्यक्षहरूले आज सामूहिक रुपमा जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएका हुन् । एमालेले विध्वंसात्मक गतिविधिमा संलग्नहरूको विवरणसहित जाहेरी दिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको उपस्थितिमा प्रहरी प्रमुख एसपी कवित कटवाललाई जाहेरी बुझाइएको एमाले मोरङले गठन गरेको कार्यदलका सदस्य मुकेश बुढाथोकीले बताए ।
एसपी कटुवालले घटनामा संलग्नहरूलाई कारवाही गरिने बताउँदै एमालेले दिएको जाहेरीले अनुसन्धानमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । जाहेरीसँगै घटनामा संलग्न व्यक्ति, आपराधिक समूहको फोटो र भिडियो सहितको विवरण समावेश गरिएको छ ।

जाहेरी दिनुअघि एमाले मोरङले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । पार्टी कार्यालय पाञ्चालीमा अध्ययन कार्यदलका संयोजक तथा कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतमले प्रतिवेदन एमाले अध्यक्ष अजम्बर राई र केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरेलाई हस्तान्तरण गरेका थिए ।

प्रतिवेदन अनुसार जेनजी आन्दोलनका क्रममा मोरङमा ५ अर्ब बराबरको क्षति भएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले सरकारले सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा भएको तोडफोड, लुटपाट र आगजनीबारे अध्ययन गरेपनि एमालेले पनि छुट्टै अध्ययन गरेको बताए । एमालेले गठन गरेको कार्यदलमा उमाकान्त गौतमसहित सदस्यहरू मुकेश बुढाथोकी, भोला अधिकारी, इरन राई र अजिम आलम रहेका थिए ।

संगालोखबर 













