
विराटनगर । मोरङको बेलबारी नगरपालिकामा विद्युतीय नगर बस सञ्चालनमा आएको छ । सोमबार नगर प्रमुख दिलप्रसाद राई तथा उपप्रमुख नितु थापाले संयुक्त रूपमा उद्घाटन गरेसँगै औपचारिक रूपमा नगर बस सञ्चालनमा आएको हो ।
नगरपालिकाका अनुसार करिब १ करोड ३१ लाख रुपैयाँको लागतमा विद्युतीय बस तथा चार्जिङ प्रणाली स्थापनासहित परियोजना अघि बढाइएको थियो ।
सार्वजनिक यातायातलाई व्यवस्थित, पारदर्शी र एकरूप बनाउने, यात्रुहरूलाई सहज र सुरक्षित सेवा प्रदान गर्ने तथा दैनिक आवत-जावतमा खर्च कम गराएर बचत अभिवृद्धि गर्नका लागि नगर बस सेवा सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार ७० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिक तथा परिचयपत्र बोकेका विद्यार्थीले दुवै रुटमा निःशुल्क यात्रा गर्न पाउने छन् । यस्तै बेलबारी बहुमुखी क्याम्पसका विद्यार्थीलाई क्याम्पस आवतजावतका लागि पूर्णरूपमा निःशुल्क बस सुविधा प्रदान गरिएको जनाइएको छ ।
नगरपालिकाले सार्वजनिक गरेको भाडादर अनुसार बेलबारी-भाउन्ने हुँदै बाहुनी बजार रुटमा १५ देखि ४० रुपैयाँसम्म पर्नेछ भने बेलबारी-लक्ष्मीमार्ग हुँदै कान्छीचोक रुटमा १० देखि ५० रुपैयाँसम्म भाडा निर्धारण गरिएको छ । नगरभित्रका छोटो दूरीका यात्रुहरूका लागि १० रुपैयाँको भाडादर लागू हुनेछ ।

संगालोखबर 













