
रंगेली । मोरङको रंगेली नगरपालिकाले किशोरी स्वास्थ्य परामर्श सम्बन्धि एकदिने मेला आयोजना गरेको छ । आइतबार जनता क्याम्पसमा भएको मेलामा रंगेली नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका ६ देखि १२ कक्षासम्मका छात्रा विद्यार्थीहरू सहभागी थिए ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा आयोजना गरिएको मेलामा कोशी प्रदेशका विभिन्न सामाजिक सङ्घसंस्थाले २० वटा बढी स्टलहरू राखेका थिए । मेलामा नोबेल मेडिकल कलेज, विराट नर्सिङ होम, न्युरो हस्पिटल लगायतबाट आएका वरिष्ठ डाक्टर सहितले किशोरीहरूलाई सहजीकरण गरेका छन् ।
ओरेक नेपाल, मानव अधिकार संस्था इन्सेक तथा महिलावादी संस्थाहरू पनि मेलामा सहभागी थिए । मेलाको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले किशोरी अवस्था संवेदनशील भएकाले विद्यालय तह देखि नै सकारात्मक सोच, विचार राख्दै बढ्दो प्रविधिको नकारात्मक विषयवस्तुबाट अलग हुन आग्रह गरे । रंगेली नगरपालिकाका मेयर दिलिप कुमार अग्रवालले यस्ता प्रकारका जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

नगरपालिकाका प्रशासकीय अधिकृत प्रदीप कुमार साहले मेलामा सोचेभन्दा धेरै छात्रा विद्यार्थीहरू सहभागी भएको उल्लेख गरे । मेलामा कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्ट, उपसभामुख सिर्जना दनुवार, सांसदहरू तथा मोरङका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरूको सहभागिता थियो ।

संगालोखबर 













