
विराटनगर । विराटनगरमा सरकारी कार्यालयहरूमा आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताजिम अन्सारी, आवास पौडेल, अरुण साह, राजीव यादव र महेश नेपाल छन् ।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कार्यालयहरूमा तोडफोड र आगजनी रहेको आरोपमा उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये पौडेल नेपाली काँग्रेस, साह नेकपा (एमाले) र अन्सारी तत्कालीन माओवादी निकट रहेको बताइएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।
उनीहरूमाथि ‘आपराधिक उपद्रव’ मुद्दा चलाउने प्रहरीको तयारी छ । उनीहरूलाई आज मोरङ जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ । यसअघि प्रहरी चौकी र गाडीहरूमा आगजनी गरेको आरोपमा प्रहरीले २१ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइसकेको छ ।

संगालोखबर 













