संगालोखबर


विराटनगर । जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको पथरिशनिश्चरे नगरपालिका-५ का ६६ वर्षीय हर्कजंग लिम्बु छन् ।

कर्तव्य ज्यान मुद्दामा १० वर्षको कैद सजाय भुक्तान गरिरहेका उनको उपचारका क्रममा कोशी अस्पतालमा आज बिहान ४ः२० बजे मृत्यु भएको मोरङ कारागारका सूचना अधिकारी तुलसी पौडेलले जानकारी दिए ।

Advertisement

‘उहाँलाई पहिलादेखि नै स्वास्थ्यमा समस्या थियो’, सूचना अधिकारी पौडेलले संगालोखबरसँग भने, ‘बारम्बार ब्लड पनि चढाइरहेको अवस्था थियो । अहिले तत्कालै स्वास्थ्यमा समस्या देखिएको हैन । पहिला पनि उपचार भइरहेको थियो ।’

उनका अनुसार लिम्बु २०८० भदौ १८ गतेदेखि कैद भुक्तान गरिरहेका थिए । उनमा शरीर सुन्निने, छाती दुख्ने जस्ता समस्या रहेको पौडेलले जानकारी दिए । उनको शव कोशी अस्पतालमै राखिएको छ ।

मोरङ कारागारमा कात्तिक महिनामा मात्रै तीन जना कैदीबन्दीको मृत्यु भएको थियो । ‘कात्तिकमा तीन जनाको उपचारकै क्रममा मृत्यु भएको थियो’, उनले भने, ‘बाहिरी जिल्लाका कारागारमा कैद भुक्तान गरिरहेका कैदीलाई पनि उपचारका लागि सहज हुने भन्दै यहाँ स्थानान्तरण गरिँदा मृत्यु हुनेको संख्या बढी देखिएको हो ।’

अहिले करिब एक हजार दुई सय कैदीबन्दी रहेका उनले बताए । उनका अनुसार कारागारमा अहिले क्षमता अनुसार नै कैदीबन्दी छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!