
विराटनगर । मोरङ प्रहरीले विराटनगर एयरपोर्टबाट काठमाडौं पठाउन लागिएको ८९ थान कुर्ता-सुरुवाल बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आज बिहान एयरपोर्टको कार्गो क्षेत्रबाट जाडो महिनामा लगाउने न्यानो कुर्ता-सुरुवाल बरामद गरेको हो ।
उक्त कपडा विराटनगरका व्यापारी बब्लु अग्रवालले काठमाडौं पठाउन लागेका थिए । अवैधरूपमा भन्सार छलेर ल्याएको कपडा विशेष सूचनाका आधारमा बरामद गरिएको प्रहरीले जनाएको छ ।
एयरपोर्टबाट कपडा बरामद भएसँगै प्रहरीले विराटनगर-४ गणेश चोकमा रहेको व्यापारी अग्रवालको घरमा पनि छापा हानेको छ । घरबाट पनि उस्तै प्रकारको ४५ थान कुर्ता-सुरुवाल बरामद भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।
बरामद भएको कुर्ता-सुरुवालको प्रतिथान मूल्य करिब पाँच हजार पर्न जाने प्रहरीको अनुमान छ । प्रहरीले कपडा ओसार-पसारमा प्रयोग हुने एउटा गाडी पनि नियन्त्रणमा लिइएको छ ।
व्यापारी अग्रवालले मोरङ र सुनसरीका सीमावर्ती क्षेत्रबाट क्यारिङ मार्फत अवैधरूपमा कपाडा भियाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अवैधरूपमा ल्याइएका कपडाहरू उनले विराटनगर-५ रहेको आफ्नै पसल ‘माँ दुर्गा इम्पेरियल’ र बरगाछीमा रहेको अर्को पसलबाट बिक्री गर्ने गरेका थिए । प्रहरीले छापा हानेर कपडा बरामद गरेसँगै व्यापारी अग्रवाल फरार भएका छन् । उनको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













