
विराटनगर । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा घुसपैठ गरेर मोरङका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्ने २१ जना पक्राउ परेका छन् । मोरङको विराटनगर र जहदाबाट १० जना, पथरी शनिश्चरेबाट ६ तथा उर्लाबारीबाट ५ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-६ का उदय साह, बब्लु सहनी, मिलन राई, राजकुमार सहनी र उर्लाबारी-७ का रविन सुन्दास छन् । यस्तै पथरीशनिश्चरे नगरपालिका-१ का चन्द्र कार्की, दीपक चौधरी, मुकेश बराइली, विश्वास थापा, सिद्धार्थ राई र मिथुन मण्डललाई पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।
यस्तै विराटनगर-५ का विशाल माल्मिकी, गोपी साह तथा विराटनगर-६ का विष्णु साफी, चन्दन बर्मा, किसन सहनी र विराटनगर-१४ का राकेश यादव पक्राउ परेका छन् । जहदा गाउँपालिका-२ का प्रवेश मण्डल, जहदा-३ का सुशील यादव, जहदा-५ का सुरज सिंह र मुकेश कामतलाई पनि पक्राउ परेका छन् ।
उनीहरूमाथि जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान अघि बढाइएको डीएसपी चुडालले जानकारी दिइन् । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय उर्लाबारी र पथरीमा आगजनी र तोडफोड भएको थियो । यस्तै थुनुवा भगाउनुका साथै प्रहरी कार्यालयका कागजपत्र पनि जलाइएको थियो ।
विराटनगरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको कार्यालय तथा विभिन्न प्रहरी बिटहरूमा आगजनी र तोडफोड गरिनुका साथै सीआरभीको गाडीसमेत जलाइएको थियो । ट्राफिक लाइट र सीसी क्यामेरा पनि तोडफोड भएको थियो ।

संगालोखबर 













