
विराटनगर । मोरङको जहदा गाउँपालिका-१ राजवंशी चोकमा दुई छिमेकीबीच भएको झगडामा मुकदर्शक भएको भन्दै प्रहरी सहायक हबल्दारमाथि कारबाही अघि बढाइएको छ ।
कात्तिक १० गते साँझ ३८ वर्षीय मुकुन्द साह र उनकी श्रीमती ३२ वर्षीया सिमादेवी साहमाथि छिमेकी ५० वर्षीय बिन्देश्वर सरवरीयाको परिवारले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।
सो घटनामा मुकदर्शक भएको भन्दै प्रहरी चौकी बुधनगरमा कार्यरत प्रहरी हबल्दार मुकुन्द बराललाई आन्तरिक सोधपुछ भइरहेको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । बराल दुई पक्षबीचको झगडाको समयमा नजिकै उभिएर घटनाक्रम हेर्दै गरेको दृश्य देखिएपछि आलोचना भएको थियो ।
‘सोधपुछका क्रममा हबल्दार बराल दोषी ठहरिए आवश्यक विभागीय कारबाही गरिनेछ’, चुडालले भनिन्, ‘हाल घटनाबारे स्पष्टीकरण मागिएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।’

संगालोखबर 













