
विराटनगर । सुनसरी प्रहरीले भारतीय कारबाट गाँजा बरामद गरेको छ । आज बिहानको राति करिब १ः४० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार बराहक्षेत्र नगरपालिका-५ विशाल चोकमा गाँजा ओसार-पसार भइरहेको सूचना प्राप्त भएको थियो । सोही आधारमा खटिएको प्रहरी टोलीले कारभित्रबाट ३४० किलो गाँजा बरामद गरेको हो ।
धरानबाट कालाबञ्जारतर्फ आउँदै गरेको तत्काल नम्बर नखुलेको पल्सर मोटरसाइकल र बीआर ११ बीआर ७१०२ नम्बरको कारलाई प्रहरीले रोक्न खोजेको थियो । तर मोटरसाइकल र कार धरानतर्फ भागेका थिए ।
प्रहरीले उनीहरूलाई पछ्याउँदै जाँदा कार रोकेर मोटरसाइकलमा उनीहरू फरार भएका डीएसपी खतिवडाले जानकारी दिए । रोकेको कारमा चेकजाँच गर्दा ११ वटा प्लाष्टिकको पोकामा गाँजा फेला परेको उनको भनाइ छ ।
बरामद भएको गाँजा र कारलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ । मोटरसाइकल र कार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













