
सुनसरी । सुनसरीको कोसी गाउँपालिका-१ खुनिया पुल नजिकै रोकेर राखेको ट्रकमा बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा २२ जना घाइते भएका सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
पुरुषको जिल्ला अस्पताल इनरुवा र महिलाको न्युरो कार्डियो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान करिब ९ः३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १-०२-००२ ख ०९४९ नम्बरको यात्रु बाहक बसले बिग्रिएर सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा सप्तरीको रुपनी नगरपालिका-९ का २५ वर्षीय प्रकाश सरदार र उनकी पत्नी पुनम सरदार, सप्तरीकै खडक नगरपालिका-५ की करिब ५० वर्षीया ज्ञानदेवी चौधरी, सिराहाको धनगढीमाई नगरपालिका-३ की ५२ वर्षीया बानेश्वरीदेवी चौधरी, ३५ वर्षीया केशीदेवी चौधरी, धनगढीमाई-१ की ५५ वर्षीया शान्तिदेवी चौधरी घाइते भएका छन् ।
यस्तै सप्तरी खडक नगरपालिकाका ४० वर्षीय दिनेशकुमार चौधरी, ३६ वर्षीया चन्द्रिका चौधरी, सिराहाको लहान-१ का ५० वर्षीय प्रभानन्द चौधरी र सप्तरी सुरुङ्गा गरपालिका-९ का ३६ वर्षीय पुरुषोत्तम चौधरी घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ ।
यसैगरी कञ्चनपुर-११ की ४५ वर्षीया मञ्जु चौधरी, सिराहा लहान-२३ का ५५ वर्षीय सुखदेव साह, कञ्चनपुरका ५० वर्षीय सत्यनारायण राम, सप्तरी सुरुङ्गा-७ की ४० वर्षीया परमेश्वरीदेवी राम र छोरा २० वर्षीय श्रवणकुमार राम घाइते भएका छन् । उनीहरूको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सिराहाको लहान-९ का ५५ वर्षीय लोचन पासवान, सप्तरी सुरुङ्गा-७ की ३५ वर्षीया सैरुल खातुन, सिराहा लहान-११ का ४२ वर्षीय शिवितराम चौधरी, सिराहा लहान-७ का ४४ वर्षीय सन्तोषकुमार मण्डल पनि सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको पनि नाम खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।
नाम खुल्न बाँकी रहेका दुई जनाको आईसीयूमा उपचार भइरहेको डीएसपी खतिवडाले जानकारी दिए । दुर्घटनाका कारण केही समय अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्गमा अहिले सवारी-साधन सञ्चालनमा आएका छन् ।

संगालोखबर 













