
विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका कैदीमध्ये एक हजार एक सय ८५ जना अझै फरार छन् । अहिले ६ सय १४ जना कैदी कारागारमा छन् ।
‘उक्त दिन एक हजार सात सय ९९ जना कैदीबन्दी कारागारमा थिए’, जेलर सुवास लामिछानेले भने, ‘हामीले सूचना जारी गरेर सम्पर्कमा आउन भनेका छौँ । केही आउने क्रममा पनि छन् । केही आइरहेका छन् ’
गत मङ्गलबार राति प्रदर्शनकारी कारागारमै पुगेर कैदीबन्दीलाई भगाएका थिए । कारागार प्रशासनका अनुसार एक हजार पाँच सय बढी कैदीबन्दी भाग्न सफल भएका थिए ।
भागेका मध्ये केहीलाई सेनाले पक्राउ गरेर कारागार प्रशासनको जिम्मा लगाएको थियो । फरार भएका कैदीका आफन्तलाई सम्पर्क गरी कारागारमा बुझाइदिन आग्रह समेत गरिएको जेलर लामिछानेले जानकारी दिए ।

संगालोखबर 













