
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकालाई समन्वय र सहकार्यमार्फत कार्यपालिका सञ्चालन गर्न एमालेले ध्यानाकर्षण गराएको छ । एमाले गाउँपालिका कमिटीले पालिका एकल पार्टीको मात्र नभएकाले समन्वय र सहकार्य गर्न ध्यानाकर्षण गराएको हो ।
निर्वाचित जनप्रतिनिधि तथा स्थानीय तहमा कार्यरत कर्मचारी सबैले कानुन मान्नुपर्ने र कानुनले निर्दिष्ट गरेको कुरा पालना गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । एमाले साँगुरीगढी गाउँपालिका कमिटी अध्यक्ष पुर्ण खजुम लिम्बुले जारी गरेको ध्यानाकर्षण पत्रमा कर्मचारीको वृद्धि विकासमा राजनीतिक पूर्वाग्रहका आधारमा भेदभाव गर्न नहुने उल्लेख गरिएको छ ।
कर्मचारीको तह वृद्धिमा चार जना सिफारिस भएपनि गाउँपालिकाले तीन जनालाई मात्र पेस गरेको र एक जनालाई पेस नगरेको प्रति गम्भीर ध्यानाकर्षण भएको पत्रमा जनाइएको छ । कमिटीले तत्काल बैठक बोलाएर चारै जनाको तह वृद्धि गर्न माग गरेको छ ।
यस्तै लामो समयदेखि विद्यालयमा कार्यरत कर्मचारी र प्रारम्भिक बालविकास (इसिडी) मा कार्यरत कर्मचारीहरूको वृद्धि भएको मासिक दुई हजार रुपैयाँ थप गरेर दिन माग गरिएको छ ।
यसैगरी लामो समयदेखि अल्झिएर रहेको भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न पनि कमिटीले गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।
गाउँपालिकामा सञ्चालित योजनाहरूको सम्झौता, अनुगमन तथा भुक्तानीमा कर्मचारीबाट दुःख दिने काम भएको गुनासो आएको भन्दै त्यसको अन्त्य गरिनुपर्ने उल्लेख गरिएको छ । कमिटीले चार बुँदे ध्यानाकर्षण पत्र मार्फत गाउँपालिका अध्यक्षलाई बुझाएको छ ।

संगालोखबर 













