
विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिका-१ कटहरेका ४१ वर्षीय डम्बर मगर वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएको दुई वर्षमात्रै भएको थियो । परिवारको जिविकोपार्जनसँगै केही रकम जम्मा गर्ने र परिवारलाई खुसी बनाउने उद्देश्यका साथ उनी विदेशिएका थिए ।
घरमा पत्नी, २, १६ र १७ वर्षीया तीन छोरीसँग उनको कुराकानी भइरहन्थ्यो । तर एकदिन सदाका लागि डम्बरबहादुर विलीन भए । पतिको फोन आउने प्रतीक्षामा बसेकी ३३ वर्षीया पत्नी विद्या मगर एकाएक पतिको मृत्युको खबर सुनेर विक्षिप्त भइन् । अनन्तः पतिको मृत्यु भएको पाँच दिनपछि उनको पनि मृत्यु भयो ।
‘भिनाजुको कुवेतमा मृत्यु भएको खबर सुनेपछि एक्कासि दिदी ढल्नुभएको थियो’, सालो अर्जुन थापा मगरले भने, ‘शनिबार एक्कासि दिदीको पनि मृत्यु भयो । अहिले दुई जना भान्जीहरू आमाको किरियामा बसेका छन् । भिनाजुको शव कुवेतमै छ ।’
उनले १७ तारिकमा भिनाजुको मृत्यु भएको खबर आएको बताए । दिदी-भिनाजुकै मृत्यु भएपछि तीन जना भान्जीहरूको बिचल्ली भएको उनले सुनाए । ‘कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेमा भिनाजु पनि पर्नुभयो भन्ने सुनेको हो’, उनले भने, ‘तर अहिलेसम्म मृत्युको यकिन कारण थाहा भएको छैन ।’
वडाध्यक्ष टेकबहादुर गुरुङले दुवै जनाको मृत्युको कारण सिङ्गो गाउँनै शोकमा डुबेको बताए । ‘श्रीमानको मृत्युको खबर सुनेपछि श्रीमतीको पनि दुःखद निधन भयो’, उनले भने, ‘पति वियोगको पीडामा पत्नीको पनि मृत्यु भएपछि बालबच्चाको बिचल्ली भयो ।’ बच्चाहरूको पठन-पाठन लगायत सहज बनाउनका लागि पहल गर्ने काम भइरहेको उनले बताए ।

संगालोखबर 













