
विराटनगर । कोशी प्रदेश सरकारले संविधान दिवस दिवसलाई भव्य रूपमा मनाउने भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले दिवस भव्यरूपमा मनाउने निर्णय गरेको हो ।
सरकारका सबै मन्त्रीहरू, सचिवहरू, सामाजिक क्षेत्रका सङ्घसंस्थाहरूको उपस्थितिमा भएको बैठकले ५ सय एक सदस्यीय मूल समारोह समिति गठन गरेको छ । त्यस्तै बैठकले आगामी असोज ३ गतेको संविधान दिवसलाई भव्यरूपमा मनाउने र तीन दिनसम्म विविध कार्यक्रमहरू गर्ने निर्णय गरेको छ ।
वक्तित्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, प्रभात फेरि, झाँकी प्रदर्शनी, जिल्ला जिल्लामा प्रदेश सरकारका सेवाहरू देखिनेगरी कार्यक्रमहरू गर्ने निर्णय भएको छ । बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशभित्रका सबै सङ्घसंस्थालाई संविधान दिवस भव्यरूपमा मनाउन आग्रह गरे ।
मुख्यमन्त्री कार्कीले प्रदेशका मौलिकताहरू झल्किने झाँकी र जातजातिका विशेषता झल्किने प्रदर्शनीहरू गर्न पनि निर्देशन दिए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा कोशी प्रदेशमा संविधान दिवस मनाउने तयारी गरिएको हो ।

संगालोखबर 













