संगालोखबर


विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवा टोलमा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । आज बिहान माइक्रो र बस एक-आपसमा ठोक्किँदा घाइते भएकामध्ये पाँच जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सप्तरीको महादेवा गाउँपालिका-६ का ३५ वर्षीय शंकर मण्डल,  सप्तरीकी ६० वर्षीय अनारवतीदेवी यादव, सप्तरी कै ६८ वर्षीय जिवछ महात्मा, सुनसरीको कोशी गाउँपालिका-६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगर महानगरपालिका-१० का ४० वर्षीय अशोक यादवको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

Advertisement

सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार तीन जनाको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहामा, एक जनाको जिल्ला अस्पताल इनरुवा र एक जनाको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका २८ जनामध्ये पाँच जनाको मृत्यु भएको तथा तीन जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् । प्रहरीका अनुसार मृत्यु र घाइते हुने प्राय माइक्रोमा सवार रहेका थिए ।

घाइतेहरूको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहा, जिल्ला अस्पताल सुनसरी तथा गोल्डेन अस्पताल र विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान करिब ८ बजे प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रो बस र मे १ ख १७९९ नम्बरको बस एक-आपसमा ठोक्किएका हुन् । बस चालक झापाको अर्जुनधारा नगरपालिका-१ का ३६ वर्षीय गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!