सिरहा । सिरहामा एमालेका स्थाानीय नेताको हत्या भएको छ । कर्जन्हा नगरपालिका १० प्रयोगपुरका ३८ वर्षीय शशिभूषण साहको गएराति हत्या भएको हो ।
घरमा सुतिरहेका साहको घाँटी काटेर अज्ञात समूहले हत्या गरेको सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले बताए । काठको दुई तल्ले घरको भुइँतल्ला कोठामा साह र माथिल्लो कोठामा घरका अन्य सदस्यहरु सुतेका थिए ।
कर्जन्हा नगरपालिका १० मा एमालेको तर्फबाट वडा सदस्य उम्मेवार बनेर पराजित साहको सोमबार मध्यरातमा हत्या भएको स्थानीय एमाले नेता जगदिश महतोले जानकारी दिए । उनले भने– ‘घटना स्थल हेर्दा मुर्छित हुने अवस्था छ । पुरै घर रक्ताम्मे बनेको छ ।’ साहको हत्याले गाउँ शोकमा डुबेको छ।
सिरहाका प्रहरी प्रमुख तथा एसपी कोइरालाका अनुसार अज्ञात समूहले धारिलो हतियार प्रहार गरी घाँटी रेटेर उनको हत्या गरेका छन् । हत्या कसले र किन गरेको भन्ने विषयमा अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।
तर, घटनाबारे अनुसन्धान थालेको र अपराधिको खोजी भइरहेको उनले बताए । हत्या गरिएका साहको शव अहिले पोष्टमार्टमका लागि लहान लगिएको छ।