विराटनगर । विराटनगर-१० मा अवस्थित कान्तिपुर स्कुलले १० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । आज स्कुल प्राङ्गणमा विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै मेयर कोइरालाले समयसँगै शिक्षा प्रणाली पनि परिवर्तन गर्नुपर्ने उल्लेख गरे ।
उनले किताबी ज्ञानसँगै सीप विकासमा पनि उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिए । सीप विकास गर्न सकेको अवस्थामा विश्व बजारमा आफ्नो क्षमता प्रस्तुत गर्न सकिने मेयर कोइरालाको भनाइ थियो ।
प्रिन्सिपल भुवन नेपालले कान्तिपुर स्कुललाई विराटनगरको मात्र नभएर देशकै एउटा नमूना स्कुल बनाउन समग्र टीम लागि परिरहेको बताए । किताबी ज्ञानमा मात्र नभएर विद्यार्थीहरूको समग्र विकासमा स्कुलले जोड दिँदै आएको उनको भनाइ थियो । कान्तिपुरमा प्ले ग्रुप देखि कक्षा १२ सम्म जम्मा दुई हजार आठ सय ८२ जना विद्यार्थी अध्ययनरत छन् ।
तस्बिर : नम्रता न्यौपाने/संगालोखबर