
विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट माध्यमिक विद्यालयमा स्पोर्ट्स मिट सुरु भएको छ । आज विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरेसँगै स्पोर्ट्स मिट २०८१ सुरु भएको हो ।
मेयर कोइरालाले एभरेष्ट एक अब्बल विद्यालयका रूपमा स्थापित भएको उल्लेख गरे । विद्यालयले अन्य विधा जस्तै खेलकुदलाई पनि उत्तिकै महत्वका साथ राखेको भन्दै उनले प्रशंसा गरे ।

‘खेलकुद एउटा यस्तो माध्यम हो । जसबाट विश्वका शक्तिशाली मुलुकलाई पनि परास्त गर्न सक्छौँ’, मेयर कोइरालाले भने, ‘अभिभावकहरू पनि यही हुनुहुन्छ । आफ्नो छोराछोरीलाई डाक्टर, इन्जिनियर या अन्य केही बनाउने चाहना हुन्छ । तर अहिले अन्य विधाबाट पनि राम्रो गर्नसक्ने अवस्था छ ।’
एभरेष्ट विद्यालयले विराटनगरलाई शैक्षिक हवका रूपमा स्थापित गर्न ठूलो भूमिका खेलेको उनको भनाइ थियो ।
हप्ता दिनसम्म चल्ने स्पोर्ट्स मिटमा दुई हजार पाँच सय विद्यार्थी सहभागि हुने विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिए । विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापसँगै खेलकुदको आवश्यकता पर्ने उनले बताए ।

‘गुणस्तरीय शिक्षा मात्र होइन । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप पनि उति नै महत्वपूर्ण हुन्छ’, पुरीले भने, ‘जीवनमा पठन-पाठन मात्रै होइन हरेक कुरा हामीले सिक्नुपर्छ । पढाइले मात्र जीवनको लक्ष्य पुरा हुन सक्दैन । त्यसैले यस्ता किसिमका गतिविधि गर्न आवश्यक छ ।’
काठमाडौं बाहिरको सबैभन्दा धेरै सुविधासम्पन्न विद्यालय एभरेष्ट भएको उनले दाबी गरे । उनले पढाइका अलाबा विद्यार्थीहरूलाई खेलकुदसँगै अन्य विभिन्न क्रियाकलापमा सामेल गराउने गरेको बताए ।

‘फुटबल, बास्केटबल, पौडी, नृत्य, सङ्गीत, तेक्वान्दो, उसु, कराँते, भलिबल, टेबलटेनिस लगायत हामीले सञ्चालन गरिरहेका छौँ’, उनले भने, ‘कक्षा ३ देखि १० सम्म पढ्ने हाम्रा विद्यार्थीले कुनै न कुनै एउटा विधामा अनिवार्य सहभागि हुनैपर्छ ।’
पढाइ बाहेक विद्यार्थीहरूमा अन्य सीप हुनुपर्छ भन्ने विद्यालयको उद्देश्य रहेको प्रिन्सिपल पुरीले उल्लेख गरे । उत्कृष्ट विद्यालयका रूपमा एभरेष्ट चार पटक सम्मानित भइसकेको उल्लेख गर्दै उनले थप उत्कृष्ट बनाउन ध्यान केन्द्रित भएको बताए ।

उद्घाटन कार्यक्रममा विद्यालयका अध्यक्ष तथा एमाले नेता विनोद ढकाल, राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेश प्रमुख दामोदर चापागाईँ, शिक्षा विकास तथा समन्वय विकास मोरङ प्रमुख जीवन गड्तौला लगायतको उपस्थिति रहेको थियो ।




संगालोखबर 













