
विराटनगर । नेपाल खेलकुद महासङ्घ मोरङ जिल्ला कमिटीको अध्यक्षमा शीतल राय निर्वाचित भएका छन् । विराटनगर स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न महासङ्घको दोस्रो जिल्ला अधिवेशनबाट राय निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।
२९ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा रिक्की रानामगर (प्रभाकर) र नवीन थापा निर्वाचित भए । यसैगरी सचिवमा सागर केसी, सह-सचिवमा इन्दु बाँस्कोटा र मेनका ठाकुर निर्वाचित हुँदा कोषाध्यक्षमा करुणा दाहाल निर्वाचित भएकी छन् ।
नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले पछिल्लो समय खेल क्षेत्रलाई गतिशील बनाउन महासङ्घले देशैभरि खेलकुद प्रतियोगिताको आयोजन गरिरहेको बताए ।
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव समेत रहेका बस्नेतले ‘खेल गति नै खेलाडीको प्रगति’ भन्ने मूल नारालाई अनुशरण गर्दै महासङ्घले त्यही अनुरूप काम गरिरहेको उल्लेख गरे ।
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले खेलकुद महासङ्घ एमालेको सबै भन्दा सक्रिय सङ्गठन रहेको बताए । अधिवेशनमा एमाले केन्द्रीय कमिटी सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, मोरङ अध्यक्ष बाबुराम कार्की लगायतले मन्तव्य राखेका थिए ।

संगालोखबर 













