विराटनगर । उद्योग सङ्गठन मोरङले माघ ११ देखि २० गतेसम्म आयोजना गर्न लागेको आठौँ संस्करणको विराट एक्स्पोमा ‘बिजनेश क्लिनिक’ पेभिलियन राख्ने तयारी गरेको छ ।
उद्योगी व्यवसायीका उद्योग विशेष समस्यालाई समाधान गर्ने प्रयत्न स्वरुप एक्स्पो स्थलमा ‘बिजनेश क्लिनिक’ पेभिलियन राख्ने तयारी गरिएको हो । एक्स्पोमा बिजनेश क्लिनिकलाई भर्चुअल प्लेटफर्मका रूपमा व्यवस्थित गरिने भएको हो ।
जसबाट अवलोकनकर्ता उद्योगी व्यवसायीले उद्योग विशेष समस्याहरू दर्ता गर्ने र दर्ता गरिएका समस्याहरूलाई वर्गीकरण तथा आवश्यक प्रशोधन गरी तथ्यमा आधारित रहेर एक्स्पो अवधीमा गहन छलफल तथा अन्तरक्रिया गरिने भएको हो ।
बिजनेश क्लिनिक विषयमा सरोकारवाला र सम्बन्धित निकायहरूको उपस्थितिमा गहन छलफल र अन्तरक्रिया गर्दै समस्या समाधानको प्रयत्न गर्ने उद्योग सङ्गठनले जनाएको छ ।
सङ्गठनले यो क्लिनिक विगत तीन वर्षदेखि सञ्चालन गर्दै आएको छ । त्यस अवधिमा सुनसरी, मोरङ औद्योगिक क्षेत्रका ७५ वटा उद्योगको स्थलगत भ्रमण गरेर १२२ वटा मुद्दा पहिचान गरेर समाधानका लागि आवश्यक पहल गरिसकेको छ ।