विराटनगर । विराटनगर महानगरपालिकाले लैङ्गिक समानता एवं सामाजिक समावेशीकरण (लैससास) परीक्षणमा ७८ अङ्क पाएको छ । आर्थिक वर्ष २०८०/८१ को परीक्षणमा महानगरले ७८ अङ्कसहित उत्कृष्ट नतिजा ल्याएको हो ।
महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेललगायतको उपस्थितिमा प्रतिवेदन सार्वजनिक गरिएको थियो । लैससास परीक्षण दिगदर्शन २०७८ अनुसार, एक सयवटा सूचकहरू तोकिएको आधारमा स्व-मूल्यांकन गर्दा राम्रो अवस्थालाई १ अङ्क, मध्यम अवस्थालाई ०.५ अङ्क र अति कमजोर अवस्थालाई ० अङ्क दिइएको छ ।
पछिल्लो ४ वर्षको नतिजालाई केलाउँदा, विराटनगर महानगरको लैससास प्रतिफल क्रमशः सुधार हुँदै गएको पाइएको छ । आर्थिक वर्ष २०७७/०७८ मा प्राप्ताङ्क ५४ थियो भने, आव २०७८/०७९ मा एक सयवटा सूचकमा ७०.५ अंक प्राप्त भएको थियो । त्यसैगरी आव २०७९/०८० मा एक सय सूचकहरूमा कुल ७४.५ अङ्क प्राप्त भएकोमा आ.व. २०८०/०८१ मा सो प्राप्ताङ्क ७८ पुगेको हो ।
मूल्याङ्कनको क्रममा सञ्चालित २ वटा कार्यशालाबाट लैससास एउटा बहु-सरोकारको विषय मात्र नभएर अन्तरशाखा र सरोकारको विषयमा समेत महानगरको बुझाइ साझा भएको परीक्षणमा खटिएका स्वतन्त्र विज्ञ सहजकर्ता एवं महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका समाजशास्त्र विभागका प्रमुख, उप-प्राध्यापक डा. चन्द्र उपाध्याय तिम्सिनाको निष्कर्ष रहेको छ ।
डा. तिम्सिनाका अनुसार स्थानीय तहमा वर्षभरि गरिएका कामको अभिलेख एवं प्रमाणिक आधारले परीक्षण कार्यलाई अर्थपूर्ण बनाउँछ । यद्यपि लैङ्गिक समानता एवं सामाजिक समावेशीकरणसम्बन्धी यथार्थपरक एवं खण्डीकृत तथ्याङ्कको व्यवस्थापन आवश्यक हुन्छ र लैससास परीक्षणमा गणना गरिने केही सूचकको स्थानीयकरण गर्नु आवश्यक देखिएको विषय विज्ञ तिम्सिनाको बुझाइ छ ।
महानगरका मेयर नागेश कोइरालाले प्राप्त नतिजा सुखद भएको बताए । ‘यद्यपि सर्वोत्तम स्थान प्राप्त गर्न हामी कहाँ चुकेका रहेछौँ, त्यसलाई अगाडि बढाउन पहल गर्नुपर्छ,’ उनले भने, ‘लैससास परीक्षण कार्यशालामा उठेका सवालहरूलाई सम्बोधन गर्दै महानगरलाई कसरी उत्कृष्ट बनाउन सकिन्छ त्यसका लागि सबैले पहल र प्रयास गर्नुपर्छ ।’
परीक्षण कार्यदलको संयोजकसमेत रहेकी उपमेयर शिल्पा निराला कार्कीले लैससास परीक्षण कार्यशालामा निकै गहन छलफल भएको बताइन् । ‘लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको क्षेत्रमा हामी हिजो कुन अवस्थामा थियौं र आज कहाँ पुगेका छौं भन्ने थाहा भयो’, उनले भनिन्, ‘प्रायः प्रमाणहरू जुटाउने प्रयास भए । हामीले लैससाससम्बन्धी कार्यक्रमहरूको निरन्तर अनुगमन र मूल्यांकन गर्दै सम्पन्न गरिएका सबै कार्यक्रमहरूको प्रमाण सुरक्षित राख्नुपर्छ ।’