विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अब्बल कार्यसम्पादन गर्ने बताएका छन् । बुधबार मोरङको सीडीओका रूपमा पदभार सम्हालेका यादवले आज पत्रकारहरूसँग छलफल गर्दै यस्तो बताएका हुन् ।
उनले कार्यालयले प्रवाह गर्ने सेवालाई चुस्तदुरुस्त राख्दै सहज सेवा उपलब्ध गराउने उल्लेख गरे । आफूले धेरै जिल्लामा सीडीओ भएर काम गरिसकेको बताउँदै सबैभन्दा राम्रो काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् ।
‘सबैलाई खुसी पार्न त सकिँदैन’, सीडीओ यादवले भने, ‘एक महिनाको कार्यसम्पादन हेरेपछि सबै थाहा पाउनुहुनेछ ।’ उनले आफूले यस्तो गर्छु भनेर घोषणा नगर्ने बताउँदै कार्यसम्पादनले सबैकुरा देखाउने उल्लेख गरे ।
‘मोरङको भूगोल मेरो लागि नयाँ होइन’, उनले थपे, ‘जिम्मेवारी मात्र नयाँ हो । यसअघि मोरङमा अन्य जिम्बेवारीमा पाँच वर्ष काम गरिसकेको छु ।’ उनले २०६४ देखि २०६९ सालसम्म मोरङमा हेल्थ असिस्टेन्टको रूपमा काम गरेको बताए ।
सोही बेला मोरङका प्रायः सबै ठाउँ घुमिसकेको उनले सुनाए । यहाँबाट बिदा हुँदा सबैले सम्झन लायक काम गर्नेमा विश्वस्त हुन उनले आग्रह गरे ।