धनकुटा । धनकुटा नगरपालिकाले आइतबार शोक बिदा दिएको छ । बिहीबार राति भएको पिकअप दुर्घटनामा नगरपालिकाको सफाइकर्मी प्रमोदकुमार मल्लिकको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले आज एक सूचना जारी गर्दै २८ गते आइतबार धनकुटा नगरपालिका कार्यालय तथा वडा कार्यालय बन्द रहने निर्णय भएको उल्लेख गरेका छन् ।
सिराहाको लाहान घर भएका मल्लिकको पाख्रीबास नगरपालिका-३ जोउटारमा भएको दुर्घटनामा घटनास्थलमै मृत्यु भएको थियो । सो दुर्घटनामा पिकअप चालक पाख्रीबास नगरपालिका-९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङको पनि मृत्यु भएको थियो ।