सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्वा गोल्डकप फुटबल प्रतियोगिताको २५ औँ संस्करण आगामी माघ १९ गतेदेखि हुने भएको छ । आज पत्रकार सम्मेलनमार्फत आयोजक धरान फुटबल क्लबले प्रतियोगिता माघ १९ गतेदेखि २६ गतेसम्म हुने जनाएको हो ।
धरान उपमहानगरपालिका-१६ रङ्गशालामा हुने प्रतियोगितामा १० वटा क्लब सहभागी हुनेछन् । प्रतियोगितामा एनआरटी क्लब काठमाडौं, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकाडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृती क्लब, युके एफसी भारत, मच्छिन्द्र क्लब काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, र धरान फुटबल क्लब रहने जनाइएको छ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित १० लाख र उपविजेताले नगद पाँच लाख पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । उत्कृष्ट खेलाडीले नगद एक लाख र प्रत्येक खेलको प्लेयर अप दि म्याच हुनेले १५ हजार पाउनेछन् ।
यस्तै सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार पुरस्कार पाउने उनले बताए ।
प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताबाट एक करोड बढी आम्दानी हुने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।