विराटनगर । विराटनगर महानगरपालिकाले रात्रिकालीन व्यवसाय व्यवस्थित बनाउने विषयमा सम्बन्धित व्यवसायीहरूसँग छलफल गरेको छ । दोहोरी साँझ र गीतगजल व्यवसायका कारण ध्वनि प्रदूषणसँगै हो-हल्ला भएको भन्दै गुनासो आएपछि महानगरले व्यवसायीहरूलाई बोलाएर छलफल गरेको हो ।
छलफलका क्रममा मेयर नागेश कोइरालाले तीन दिनभित्र ध्वनि प्रदुषण कम गर्न व्यवसायीहरूलाई निर्देशन दिएका छन् । कोइरालाले ध्वनि प्रदूषण र हो-हल्लाले राति सुत्न र विद्यार्थीलाई अध्ययन गर्न बाधा पुगेको भन्दै महानगरका विभिन्न स्थानबाट भिडियोसहितको गुनासो आएको जानकारी गराए ।
उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेल, राजस्व महाशाखा प्रमुख सरोज गौतम, सरसफाइ शाखा प्रमुख पुनम दाहाललगायतको उपस्थितिमा भएको भेलाले महानगर प्रहरीका निरीक्षक राजन पौडेलको संयोजकत्वमा गीतगजल र दोहोरी साँझलाई व्यवस्थित बनाउन समितिसमेत गठन गरेको छ ।
समितिमा होटल तथा पेयपदार्थ सङ्घअन्तर्गतको रात्रिकालीन होटल व्यवसाय समन्वय समितिका अध्यक्ष सुरज श्रेष्ठ, महानगरको राजस्व महाशाखाका वासुदेव भण्डारी, नासाकु गीतगजलकी सञ्चालिका बविता चौधरी र श्रीराम गीतगजलका सञ्चालक नारायण तिम्सिना सदस्य छन् । समितिले ध्वनि प्रदूषण र पार्किङको अवस्था, राजस्व तिरे नतिरेको, सरसफाइ कार्ड बनाए नबनाएको लगायतका विषयमा अनुगमन गर्नेछ ।
करिब एक वर्ष अगाडि मेयर कोइरालाकै पहलमा प्रमुख जिल्ला अधिकारी, मोरङका प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुखलगायत सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको थियो । त्यो भन्दा अगाडि राति ९ बजेसम्म मात्र रात्रिकालीन व्यवसाय सञ्चालन हुँदै आएका थिए ।
व्यवसायीकै आग्रहमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरिएको भएपनि अहिले आएर उनीहरूले नै कार्यान्वयन नगरेको मेयर कोइरालाले उल्लेख गरे ।
‘अब पनि सहमति कार्यान्वयन नभए पूर्ववत्ः अवस्थाकै राति ९ बजेसम्म मात्रै सञ्चालन हुनेगरि अर्को निर्णय हुनसक्छ,’ मेयर कोइरालाले भने, ‘कम्तिमा व्यवसाय गर्दा अरुलाई बाधा त पुग्नु भएन नि ।’