विराटनगर । विराटनगरमा दुई दिने रोजगार मेला सुरु भएको छ । स्विस कन्ट्याक्टको सहयोगमा महानगरपालिकाले आयोजना गरेको मेलाबाट तीन सय जनालाई रोजगारीमा जोड्ने लक्ष्य राखिएको छ ।
विराटनगर-७ स्थित विरेन्द्र सभागृह छेउमा रहेको इको पार्कमा आज भेलाको शुभारम्भ गरिएको हो । मेलामा साना, घरेलु तथा मझौला उद्योग, रोजगारदाता कम्पनी, सञ्चार संस्थालगायतको ३० वटा स्टल रहेका छन् ।
मेलाको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख नागेश कोइरालाले तीन सय जनालाई रोजगारीमा जोड्ने उद्देश्यले मेलाको आयोजना गरिएको जानकारी दिए ।
उनले मेलामार्फत रोजगार आकाङ्क्षी र रोजगारदाताको पहिचान गरेर आवश्यकताका आधारमा जनशक्ति व्यवस्थापनमा महानगरपालिकाले सहजीकरण गर्ने उल्लेख गरे ।
उपप्रमुख शिल्पा निराला कार्कीले अघिल्लो वर्षका कमीकमजोरी सच्याउँदै मेलाको आयोजना गरिएको जानकारी दिइन् । मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेकालाई जोड्ने पुलको काम गर्ने उल्लेख गरिन् ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले मेलाले रोजगारको खोजीमा रहेकालाई रोजगारदाताको सम्पर्कमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । आजबाट सुरु भएको रोजगार मेला भोलि सम्म सञ्चालन हुनेछ ।