बि.सं.२०८१ मंसिर २१ गते शुक्रबार ई.सं.२०२४ डिसेम्बर ०६ नेपाल सम्वत् ११४५ थिंलाथ्व पञ्चमि , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल चतुर्थी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र , ध्रुव योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः४० बजे, सूर्यास्त साँझ ०५ः०८ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको सुरुवात वा शुभ यात्रामा निस्कँदा आजका लागि शुभ समय बिहान ०७ बजेर ५९ मिनेट देखि ०९ बजेर १७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, इत्यादिमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
करियर र भविष्यको सोच सलबलाउनेछ, कोसिस गरेमा कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका उच्च तहका विद्यार्थीले कुनै अवसरसमेत पाउन सक्नुहुन्छ । काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ, नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो । व्यक्तित्व निर्माण वा प्रतिष्ठा वृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ । हाकिम वा वरिष्ठ कर्मचारीसँग निकटता बढ्नाले विशेष लाभ लिनसक्ने समय हो, अतिरिक्त आम्दानी हुनाले तत्कालको गर्जो टार्न सघाउ पुग्नेछ
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पार्टनरको रचनात्मक क्रियाकलापले एउटा नौलो प्रेरणा प्राप्त हुनेछ । कामधन्दा तपाईंको तनावको विषय बन्नसक्छ । सकेसम्म प्रेम र रोमान्सका लागि समय निकाल्नुहोला । परिस्थिति प्रतिकूल नै भए पनि अनुभवी र जानकार व्यक्तिको आकस्मिक सहयोग प्राप्त हुँदा समस्या समाधान गर्न मद्दत पुग्नेछ । इज्जत र प्रतिष्ठालाई दाउमा राखेर काम नगर्नुहोला, जीवनमा पैसा नै सबथोक होइन, आफ्नो कर्तव्य र स्वास्थ्यका बारेमा पनि ध्यानकेन्द्रित गर्नुपर्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यस्थितिप्रति चनाखो हुनुपर्छ, ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान पुर्याउने समय हो । हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो । जोखिम र सङ्कटले भरिपूर्ण समय हो, यस अवधिमा नैराश्यता, दिकदारी र चिडचिडेपन बढ्नसक्छ । परिबन्द र बाध्यताका कारण आर्थिक बोझ बढ्नेछ, साथमा लगानी र दौडधूपको समुचित मूल्यसमेत प्राप्त हुनेछैन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामको चाप बढे पनि मनमा सन्तुष्टिको आभास हुने राम्रो दिन छ, आज गैरलाभकारी कामतर्फ समेत मनको आकर्षण रहने छ । इच्छाअनुरूप एकान्तमा बस्न पाउने अवसर मिल्नेछ, यस अवसरमा मनमा जरो गाडेर बसेको कुनै कुरा छ भने साथीलाई बताउनु होला । आत्मीय मित्र वा प्रेमीप्रेमिकाका बीचमा अविश्वास र भ्रम सिर्जना हुने सङ्केत छ, आफ्नो काम र लक्ष्यप्रति विश्वस्त हुनु ठीक हुन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कानुनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नेछ । काम गर्ने तौरतरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक छ । अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ । ओभर कन्फिडेन्समा नरहनु होला, परीक्षा वा प्रतिस्पर्द्धा नजिकै आएको छ भने खेलवाड र मनोरञ्जनलाई पूर्णतया त्यागेर थप मिहिनेत गर्नु समुचित हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ । बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । आज तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाको उदय हुने महत्त्वपूर्ण दिन हो । ज्ञान, आत्मबल र सामर्थ्य प्रदर्शन गरी अरुलाई प्रभावित बनाउन सकिने छ, जसबाट महत्त्वपूर्ण उपलब्धिको बाटोसमेत खुल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । सन्तान वा भाइबहिनीको करियर सम्बन्धी कुनै समस्या आइपरेमा विशेष व्यक्तिबाट उचित सल्लाह र सहयोग मिल्नेछ, जसबाट तपाईको तनाव पनि हट्नसक्छ । घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्छ । दौडधूप गर्नुपर्ने काम वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नजानेको वा नसुल्झिएको विषयवस्तुमा सहपाठीको सहयोग लिनुहोला, किनकि जब तपाईंको उद्देश्य सुदृढ हुन्छ, कडा परिश्रम विकल्प होइन आवश्यकता बन्ने गर्दछ । बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ । आध्यात्मिक मनोभावको विकास हुनेछ, साथै मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सफलता हासिल हुनेछ, त्यस्तै देखिएका चुनौती निवारण गर्न सहकर्मी वा हाकिमको सहयोग प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनप्राप्तिको योग बनेको छ, स्थिर प्रयोजनको लगानीका लागि अनुकूल समय छ, पछिसम्म फाइदा हुने कुनै काम सम्पन्न हुनेछ, बहुमूल्य वस्तु र पुराना चिजबीज सङ्कलन गर्न मन लाग्छ । अतिरिक्त आम्दानीका लागि कुनै व्यवसाय, पेसा वा नोकरीका बारेमा आकर्षण छ भने अनुभवी र जान्नेबुझ्नेको राय लिएर अघि बढ्दा जाती हुन्छ । व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय हो, आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आपसी भेटघाट र मेलमिलापको समय हो, आफन्तसँग फोनमा नै किन नहोस् सम्पर्क गरी भलाकुसारी गरेको राम्रो हुन्छ । परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ । मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ, कामको चापबाट फुर्सद पाइने छ, जीवनसाथीका साथ कुनै सानोतिनो यात्रामा निस्कने योग बनेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तनाव र स्ट्रेसले भरिएको खराब समय छ, केही समय आफ्नो सुस्वास्थ्य र आरामका लागि छुट्याउनु पर्छ, जसबाट मनोबल बढाउन मद्दत पुग्नेछ । आम्दानीमा उतारचढाव आउने दिन हो, सामान्य मानेको लापरवाहीले समेत दण्ड/जरिवानामा पर्न सकिन्छ, जतिसक्दो आफ्नो कारोबारमा ध्यानकेन्द्रित गरेको जाती हुन्छ । राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन् । अनुकूल स्थानान्तरणको योग छ, सम्बद्ध निकायमा कुरा राख्न अनुकूल समय छ । त्यस्तै बढुवा हुनुछ भने ठीक ढंगले तैयारी गर्नुहोला । लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ ।