संगालोखबर
फाइल तस्बिर

विराटनगर । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइराला पक्षले विराटनगरमा आजदेखि पालिका सभापतिहरूको वृहत भेला गर्ने भएको छ । कोइराला पक्षले आज दिउँसो १ बजे विराटनगरको जैन भवनमा भेलाको उद्‌घाटन गर्ने तयारी गरेको छ ।

हिजो संस्थापन पक्षले कोशी प्रदेशका सबै जिल्ला सभापतिहरूलाई पत्राचार गर्दै औपचारिक रूपमा मंसिर २२ गतेदेखि भेला आयोजना गरिएको जनाएको थियो । शेखर पक्षको भेला आधिकारिकी नभएको र मंसिर २२ बाट हुने भेला नै आधिकारिक भएको जनाएको थियो ।

‘नेपाली काँग्रेसको सबैभन्दा मुख्य बेस भनेको पालिका र वडा कार्यसमिति हो’, कोइराला पक्षका विराटनगर सभापति दीपक चापागाईँले भने, ‘हामीले काँग्रेसका १७ पालिकाका सभापतिहरूको संयुक्त बैठकले काँग्रेस कोशी प्रदेश भित्रका सबै पालिकाका साथीहरूलाई एक ठाउँमा जम्मा गरेर पार्टीका गतिविधिका बारेमा छलफल गर्न कार्यक्रम आयोजना गरेका हौँ ।’

उनले यो भेला रोक्नुपर्ने कुनै कारण नभएको उल्लेख गरे । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पठाएको पत्रको कुनै अर्थ नहुने भन्दै उनले कर्मचारीले नेतालाई  कन्ट्रोल गर्न खोजेर नहुने बताए ।

केन्द्रीय कार्यालयका सचिव पौडेलले पठाएको पत्रमा कोशी प्रदेशका सबै जिल्लाका सभापतिहरूलाई पत्राचार गर्दै मंसिर २२ गते आधिकारिक प्रदेशको सम्मेलन हुने र त्यसयता कुनै कार्यक्रम नभएको उल्लेख छ ।

चापागाईँले भेला निर्धारित समयमा नै हुने बताए । उनले धेरै पालिकाका सभापति आइसकेका र केही आउने क्रममा रहेको जानकारी दिए । कोशीमा काँग्रेस प्रदेश समितिले मंसिर २२ गते भेला आयोजना गरेको छ । संस्थापन पक्षमा रहेका कृष्णप्रसाद सिटौला निकट उद्धव थापा छन् । थापा नेतृत्वको प्रदेश समितिले मंसिर २२ गते पहिलो सम्मेलन गर्ने तय गरे पनि शेखर पक्षले आज र भोलिका लागि भेला आयोजना गरेको हो ।

मोरङका १७ वटै स्थानीय पालिका कमिटीको आयोजनामा भेला गर्न लागिएको चापागाइँले जानकारी दिए । उनले भेलाको उद्‌घाटन विराटनगरमा हुने र प्रशिक्षण कार्यक्रम बेलबारीमा राखिएको उनको भनाइ छ । सङ्गठनलाई सुदृढीकरण गर्दै समयमा महाधिवेशन गर्न केन्द्रीय समितिको ध्यानाकर्षण गर्ने मुख्य उद्देश्यका साथ भेला आयोजना गरिएको उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!