धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा पछिल्लो समय व्यवसायिक किवी खेती हुँदै आएको छ । सुरुवाती चरणमा थोरै क्षेत्रफलबाट सुरु गरिएको खेती उत्पादन राम्रो हुन थालेसँगै विस्तार गरिएको थियो ।
हाल महालक्ष्मी-२ का करिब ५० घरपरिवारले व्यवसायिक किवी खेती गर्दै आएका छन् । तर उत्पादन अनुसार बजार भाउ नपाउँदा कृषक निराश भएका छन् ।
दोलखा र इलामबाट बिरुवा ल्याएर खेती सुरु गरेका कृषकले सुरुवाती चरणमा प्रतिकिलो दुई सय ५० रुपैयाँ सम्ममा बिक्री गरेका थिए । अहिले प्रतिकिलो ७० देखि ८० रुपैयाँ सम्ममा पनि बिक्री हुन मुस्किल भएको कृषक दिलबहादुर लुङ्गेली मगरले बताए ।
‘गाउँमै किवीबाट वाइन बनाउने फ्याक्ट्री बनेको छ’, उनले भने, ‘फ्याक्ट्री बनेसँगै प्रतिकिलो ७० रुपैयाँका दरले दिने सम्झौता भएको छ ।’ करिब ७/८ वर्ष आगाडि सम्भावना राम्रो देखेर व्यवसायिक रूपमा किवी खेती सुरु गरिएको उनले बताए ।
सस्तोमा बेच्नुपर्दा मेहनत मात्रै खेर जाने गरेको अर्का कृषक हरिबहादुर पौडेलले सुनाए । ‘किवी खेती गर्न धेरै लगानी लाग्छ । मैले सात रोपनी क्षेत्रफलमा किवी लगाएको छु’, उनले भने, ‘अहिले लगानी उठाउन समेत मुस्किल भएको छ । उत्पादन राम्रो भएपनि मूल्य पाउन सकिएन ।’
किवीको मूल्य केही घटेपनि कृषकलाई उत्साहित गर्न फ्याक्ट्री सञ्चालनको तयारी गरिएको वडाध्यक्ष पदम रखालले बताए । उनले भने, ‘फ्याक्ट्री सञ्चालनमा आएपछि अन्यत्र लगेर बेच्नुपर्ने समस्या समाधान भएको छ ।’ कृषकको आवश्यकता अनुसार वडाले सहयोग गर्ने उनको भनाइ छ ।