विराटनगर । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन सामग्री विराटनगर आइपुगेको छ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि सामाग्री प्रदेश निर्वाचन कार्यालय विराटनगरमा आइपुगेको हो ।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार बिहिबार मतपत्र र मतपेटिकालगायतका आवश्यक सामग्री मतदान केन्द्रमा लगिने छ ।
उपनिर्वाचनका लागि ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । गाउँपालिकाकामा १२ वटा मतदान स्थल र २९ वटा मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
भोलि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखीकरण कार्यक्रम राखिएको छ । ग्रामथानको अध्यक्ष पदमा राजनीतिक दलका १५ र स्वतन्त्र एकसहित १६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।