विराटनगर । झापा, मोरङ र सुनसरीबाट लागूऔषधसहित आठ जना पक्राउ परेका छन् । हिजो विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट बाह्रघरेबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-७ का ३८ वर्षीय सन्देश बस्नेतलाई घरबाट नै पक्राउ गरेको छ ।
ट्रामाडोल चार हजार नौ सय ३० क्याप्सुल, स्पास्पेन पाँच हजार २६ क्याप्सुल र डिकोलिक चार सय २० क्याप्सुलसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै प्रहरी चौकी कुञ्जीबारीको गस्ती टोलीले गौरीगन्ज गाउँपालिका-१ का २१ वर्षीय उत्तम राजवंशी, १९ वर्षीय गोविन्द राजवंशी र किरण कोचलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट नौ सय मिलिग्राम ब्राउन सुगर र नाइट्राक्रस ८० ट्याब्लेटसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-७ का १८ वर्षीय सुजन तामाङ, १८ वर्षीय पर्वत तामाङ र मोरङ बेलबारी-१ का १८ वर्षीय सारुहाङ राई पक्राउ परेका छन् । उनीहरूलाई ट्रामाडोल ९५ र स्पास्पेन ९५ क्याप्सुलसहित अस्थायी प्रहरी चौकी बाङ्गेले नियन्त्रणमा लिएको हो ।
बेलबारी-२ का २० बर्षीय राकेश लिम्बूलाई विराटनगर बसपार्कबाट ७९ वटा एम्पुल (फेनारगन, एभिल, डाइजेपाम) सहित वडा प्रहरी कार्यालय विराटनगरले नियन्त्रणमा लिएको छ । उनीहरूका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको छ ।