विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
पथरीशनिश्चरे नगरपालिका-५ का अन्दाजी ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका-४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र सोही स्थानका २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको चिकित्सकले मृत घोषणा गरेका थिए । लिम्बूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा पथरीशनिश्चरे-५ का ३० वर्षीय विष्णु धिमाल गम्भीर घाइते भएका छन् । उनको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।