विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, शिक्षा शास्त्र सङ्कायको आयोजनामा बालविकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपालमा प्रारम्भिक बाल विकास इकोसिस्टमको परिकल्पना गर्दै दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको हो ।
नेपालमा पहिलोपटक सम्मेलन हुन लागेको हो । सम्मेलन आगामी मंसिर २१ र २२ गते विराटनगरमा हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
सम्मेलनमा नेपाल, अमेरिका, मलेसिया, भारत, बङ्गलादेश लगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहने शिक्षाशास्त्र सङ्कायमा डीन प्रा.डा. अनिलकुमार पोखरेलले बताए । सम्मेलनमा बालविकासका क्षेत्रमा प्राज्ञिक बहस र विमर्श गराउने मुख्य उद्देश्य राखिएको उनको भनाइ छ ।
सम्मेलनमा बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाहरूको हेरचाह, बालविकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेशागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई परेको प्रभाव, बालबालिकाको पोषण तथा यसले बाल विकासमा पारेको प्रभाव लगायतका विषयमा सहभागीहरूले अनुसन्धान प्रस्तुत गर्ने पोखरेलले बताए ।
सम्मेलनमा प्रस्तुत भएको कार्यपत्र एवं कार्यशालाबाट विश्वविद्यालयले भविष्यमा शिक्षाशास्त्र सङ्काय अन्तर्गत रहने गरी इसीडी सम्बन्धी अध्ययन/अनुसन्धान गर्ने केन्द्र सञ्चालनमा महत्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको उनले सुनाए ।