विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले २८ जना फरार प्रतिवादी पक्राउ गर्न सफल भएको छ । मोरङका विभिन्न स्थानबाट मंसिर १ गतेदेखि ५ गतेसम्ममा प्रहरीले २८ जना फरार प्रतिवादी पक्राउ गरेको हो ।
जिल्ला अदालत मोरङबाट कैद तथा जरिवाना तोकिएका तर फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए । पक्राउ गरिएका प्रतिवादीलाई अदालतमा पेश गरिएको उनले बताए ।
यसरी पक्राउ पर्नेमा पथरी शनिश्चरे-८ का ढक बहादुर अधिकारी र सन्तोष कार्की रहेका छन् । उनीहरूे सवारी ज्यान मुद्दामा क्रमशः एक र दुई महिना कैद भुक्तान गर्न बाँकी छ । यसैगरी सुन्दरहरैँचा-११ का श्याम चौधरी र दिनेश कार्की पक्राउ परेका छन् । उनीहरूले क्रमशः दुई हजार र एक हजार पाँच सय जरिवाना तोकिएको थियो ।
काठ ओसारपसार मुद्दामा फरार रहेका कानेपोखरी गाउँपालिका-७ का टेक बहादुर परियार र लागूऔषध मुद्दामा फरार रहेका पथरी शनिश्चरे-६ का किसन मण्डल पक्राउ परेका हुन् । परियारलाई १३ हजार दुई सय जरिवाना र मण्डललाई एक महिना कैद सजाय तोकिएको थियो । चोरी मुद्दामा फरार पथरी शनिश्चरे-९ का खोम बहादुर श्रेष्ठ र पथरी शनिश्चरे-४ का विनोद तामाङ पक्राउ परेका छन् ।
श्रेष्ठलाई दुई वर्ष ११ महिना ७ दिन कैद र तीस हजार जरिवाना तोकिएको थियो भने तामाङलाई दुई महिना १२ दिन कैद र पाँच हजार जरिवाना तोकिएको थियो । यसैगरी अभद्र व्यवहारमा फरार पथरी शनिश्चरे-१ का उमेश गुरुङ, बैंकिङ कसुरमा फरार सोही स्थानका लिलावती राई र विकास राई पक्राउ परेका हुन् ।
यसैगरी जालसाज मुद्दामा फरार कानेपोखरी-६ का निल प्रसाद ओझा, सवारी ज्यान मुद्दामा फरार कानेपोखरी-५ का सन्जय श्रेष्ठ र सवारी ज्यान मुद्दामै फरार पथरी शनिश्चरे-१० का पुन्य प्रसाद तिम्सिना प्रक्राउ परेका छन् ।
लागूऔषध मुद्दामा फरार पथरी शनिश्चरे-१० का अमित गुरुङ, पथरी शनिश्चरे-१ का मिथुन मण्डल र राम कुमार सहनी पक्राउ परेका छन् । उनीहरूलाई क्रमशः एक महिना २७ दिन, दुई महिना २७ दिन र दुई महिना २७ दिन कैद सजाय सुनाइएको थियो ।
यसैगरी लेनदेन मुद्दामा फरार कटहरी गाउँपालिका-४ की आशादेवी मण्डल र कटहरी-३ की उर्मिला कामतलाई पक्राउ गरिएको हो । उनीहरूलाई क्रमशः छ र नौ महिना कैद सजाय सुनाइएको थियो ।
यसैगरी लागूऔषध मुद्दामा फरार पथरी शनिश्चरे-२ का सन्तोष कार्की, विराटनगरका सुमन राय, बेलबारी-१० का शेर बहादुर जोगी र सोही स्थानका जीवन दर्जी पक्राउ परेका छन् । दर्जीलाई एक महिना कैद र नौ सय ५० जरिवाना तोकिएको थियो ।
बहुविवाह मुद्दामा फरार विराटनगर-१६ का धर्म यादव र अङ्गभङग मुद्दामा फरार विराटनगर-५ की फुलिया कुमारी मिया पक्राउ परेका छन् । उनीहरूलाई क्रमशः एक वर्ष कैद तथा पाँच हजार जरिवाना र छ वर्ष कैद तथा ५० हजार जरिवाना तोकिएको थियो ।
यसैगरी चेक अनादर मुद्दामा फरार विराटनगरका फइयाज मिया, विराटनगर-१५ का रमेश चौधरी र सार्वजनिक मुद्दामा फरार विराटनगर-१५ कै शुसिल श्रेष्ठ पक्राउ परेका हुन् ।