धनकुटा । नेपालको एक मात्र अमिलो जातको अनुसन्धान गर्ने राष्ट्रिय सुन्तलाजात अनुसन्धान केन्द्र धनकुटामा कर्मचारी नहुँदा काम प्रभावित भएको छ । लामो समयदेखि वैज्ञानिक तथा प्राविधिक कर्मचारी नहुँदा अनुसन्धानको काम प्रभावित भएको हो ।
फलफूलको अनुसन्धान गर्ने मुख्य वैज्ञानिक (एस–५) एक जना र बरिष्ठ वैज्ञानिक (एस–४) एक गरी दुई जनाको दरबन्दी छ । तर कार्यालयमा एक जना मात्रै कार्यरत रहेका छन् । यस्तै बरिष्ठ वैज्ञानिक (एस–३) मा दुई जनाको दरबन्दी भएपनि पद रिक्त छ । वैज्ञानिक (एस–२) मा एक र वैज्ञानिक (एस–१) मा तीन जनाको दरबन्दी छ ।
बरिष्ठ प्राविधिक र प्राविधिक अधिकृतमा पाँच वटा दरबन्दी छ । आठ जना प्राविधिक सहायको दरबन्दी छ । तर सबै पद रिक्त भएका कारण काम प्रभावित भएको छ । यस्तै १३ जना प्राविधिक सहयोगीको दरबन्दीमा हाल दुई जना मात्रै कार्यरत रहेका छन् ।
सबै तहमा गरेर जम्मा ३७ दरबन्दी भएपनि कार्यालयमा हाल पाँच जना मात्र कार्यरत रहेका छन् । कार्यालय प्रमुख, प्राविधिक अधिकृत दुईजना, प्रशासकीय अधिकृत एक जना, लेखा अधिकृत एक जना र दुई जना प्राविधिक सहयोगी मात्रै कार्यरत छन् ।
कर्मचारी अभावमा काम प्रभावित भएको राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्लेमा कार्यालय प्रमुख वरिष्ठ वैज्ञानिक वसन्त चालिसेले बताए । पछिल्लो समय अमिलो जातमा बिभिन्न रोगको प्रकोप देखा परेपनि कर्मचारी नभएकै कारण अनुसन्धानमा समस्या भएको उनको भनाइ छ ।
बि.सं. २०१८ सालमा पारिपात्लेमा कृषि अनुसन्धान केन्द्रका रूपमा स्थापित यस केन्द्रलाई २०५२ साल पछि सम्पूर्ण अमिलो जात फलफूलको अनुसन्धानको जिम्मा दिइएको थियो ।
सुन्तला, जुनार, कागतीसहित एक सय ५४ अमिलो जातका फलफुल लगायत प्रजातिको नयाँ जात परिक्षण गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो । रोग, कीरा, माटो, नयाँ शुद्ध बिरुवा परीक्षण र उत्पादनका लागि पाँच ल्याब बनाइएको छ ।
जसमध्ये हाल टिस्युकल्चर, किटविज्ञ, माटो परिक्षण र रोग परीक्षण लगायतका चार वटा ल्याब रहेका छन् । वैज्ञानिक र प्राविधिक नभएकै कारण ल्याब बन्द रहेको कार्यलयले जनाएको छ । नेपालका पहाडी जिल्ला अन्तर्गत २२ जिल्लाको २५ हजार ४ सय ९७ हेक्टर क्षेत्रफलमा अमिलो जातको फलफूल खेती हुने गरेको छ ।
कार्यालयबाट सेवा पाउन नसकेको धनकुटा–३ का कृषक मीनबहादुर कार्कीले बताए । विभिन्न प्रकोप र उन्नत प्रजातिको बिरुवा विकास हुन नसक्दा वर्षेनी उत्पादन घटिरहेको उनको भनाइ छ ।