मोहन ढकाल/संगालोखबर
फाइल तस्वीर

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्थानीय तह निर्वाचनताका घोषणापत्रमा अन्य विषयजस्तै सार्वजनिक शौचालयलाई पनि प्राथमिकता दिएका थिए । अन्य समस्या जस्तै विराटनगरको मुख्य समस्या सार्वजनिक शौचालय पनि हो । त्यसैले प्राथमिकता दिनैपर्ने थियो । तर घोषणापत्रमा मात्रै सीमित बनेको प्राथमिकताले व्यावहारिक रुपमा आकार लिन सकेको छैन । महानगरबासीले नयाँ सार्वजनिक शौचालय देख्न पाएका छैनन् ।

महानगरपालिकालाई २०७६ असार १८ गते ‘खुला दिसामुक्त क्षेत्र’ घोषणा गरिएको थियो । तर त्यही खुला दिसामुक्त महानगरमा अहिलेसम्म पर्याप्त सार्वजनिक शौचालय छैनन् । बजार निक्लिएका बेला शौचले च्यापिहाले बैंक तथा होटलहरूमा जानुपर्ने बाध्यता छ । महानगरले सार्वजनिक शौचालय निर्माणमा ध्यान नदिँदा बाहिरबाट आउने आगन्तुकहरूलाई थप समस्या हुने गरेको स्थानीय राम खत्री बताउँछन् ।

Advertisement

उनी भन्छन्, ‘स्थानीयलाई पनि समस्या हुन्छ नै । शौच लागिहाले स्थानीय बासिन्दा बैंक तथा होटमा पनि जान सक्छन्, तर बाहिरबाट आउने आगन्तुकलाई त्यो सहजता पनि हुँदैन ।’ महानगरका हरेक संरचना अलपत्र पर्ने गरेका उनले बताए । उनले सार्वजनिक शौचालय निर्माणको कुरा त झन् एकादेशको कथा मात्रै भएको टिप्पणी गरे ।

सार्वजनिक शौचालय निर्माणको विषयलाई महानगरले गम्भीरतापूर्वक लिनुपर्ने स्थानीय राज दाहाल बताउँछन् । खुला दिसामुक्त सहरमा सार्वजनिक शौचालय नहुनु लज्जास्पद विषय भएको उनले बताए । कतैकतै महानगरका भित्री क्षेत्रमा सार्वजनिक शौचालय भएपनि कोशी राजमार्गका मुख्य चोकहरूमा नहुँदा आम नागरिक समस्यामा पर्ने गरेको उनको भनाइ छ ।

‘प्रदेशको राजधानी मात्र नभएर विराटनगर ऐतिहासिक सहर पनि हो’, स्थानीय सुरेश मिश्र भन्छन्, ‘यति ठूलो सहरमा सार्वजनिक शौचालय नहुनु लज्जास्पद कुरा हो । महानगरले यस विषयमा यथाशीघ्र ध्यान दिन आवश्यक छ ।’ प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी रहँदा महानगरले सूचना जारी गर्दै सार्वजनिक शौचालय निर्माण गर्न इच्छुकलाई प्रस्ताव पेस गर्न भनेको थियो । २० वटा शौचालय निर्माणका लागि महानगरले सूचना निकालेको थियो । तर त्यो सूचना अहिलेसम्म सूचनामा मात्रै सीमित भएको छ ।

महानगरले देवकोटा चोक, सोमबारे हटिया क्षेत्र (तीनपैनी), ट्राफिक कार्यालय क्षेत्र, विद्युत प्राधिकरण क्षेत्र, रोडशेष, कञ्चनबारी क्षेत्रमा सार्वजनिक शौचालय निर्माणका लागि सूचना निकालेको थियो । यस्तै गुद्रीबजार क्षेत्र, बरगाछी क्षेत्र, महानगरपालिका आसपासको क्षेत्र, बसपार्क क्षेत्र, जिल्ला अदालत क्षेत्र, केसलिया मार्ग, महेन्द्र मोरङ क्याम्पस क्षेत्र, रानी बसपार्क, सिद्धार्थ चोक, पिचरा चोक, एबिसिडी प्लट (बजार क्षेत्र) र अन्य तीन स्थानमा निर्माण गर्ने उल्लेख थियो । तर अहिलेसम्म शौचालय बनेका छैनन् ।

आमजनताले ढाट, दुधफारम, कञ्चनबारी, बरगाछी, भृकुटी चोक, महेन्द्र चोक कतै उत्रिएर शौचालय जानुपर्ने भयो भने एउटै सार्वजनिक शौचालय छैनन् । महानगरले भने विभिन्न समस्याका कारण सार्वजनिक शौचालय बन्न नसकेको बताउने गरेको छ । ‘मैले घोषणा पत्रमा पनि सार्वजनिक शौचालय बनाउने भनेर भनेको थिएँ’, मेयर कोइरालाले संगालोखबरसँग भने, ‘मेन रोडमा ठाउँ उपलब्ध भएन । जसका कारण काम अगाडि बढ्न सकेन ।’

मेनरोडभन्दा बाहिर विद्युत प्राधिकरणसँग ठाउँ उपलब्ध गराइदिनु भनेर अनुरोध गरेको र प्राधिकरणले प्रक्रिया अगाडि बढाएको मेयर कोइरालाले बताए । यस्तै, आदर्श विद्यालयको पछाडि जग्गा उपलब्ध भएर महिला मारवाडी मञ्चले शौचालय बनाउने प्रतिबद्धता जनाएको उनको भनाइ छ ।

संसारीमाइस्थान अगाडि जग्गा उपलब्ध भएपनि मठमन्दिरको अगाडि शौचालय बनाउनु हुँदैन भनेर रोकेर राखेको उनले बताए । ‘ए प्लट र बी प्लटमा खालि जमिनमा शौचालय बनाउने सोच बनाएका छौँ’, उनले भने, ‘सम्बन्धित वडाका वडाध्यक्षले अनुरोध गर्नुभयो भने त्यही हिसाबले प्रक्रिया अगाडि बढाउने छौं ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!