- संगालोखबर सम्वाददाता

विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले सञ्चालन गराएको एम्बुलेन्स क्याम्पबाट गत साउन महिनामा मोरङको क्षेत्र नं.३ का १५ हजार भन्दा बढी बिरामी लाभान्वित भएका छन् । क्षेत्र नं.३ मा पर्ने बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीमा सञ्चालित एम्बुलेन्स क्याम्पबाट साउन महिनाभरमा १५ हजार २ सय ५० बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।

सो अवधिमा २ हजार ८ सय ७२ जनाको रक्त परीक्षण, २ हजार ३ सय ८१ जनाको भिडियो एक्सरे र १ हजार ४ सय ७९ जनाको मुटुको जाँच इसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार दाँतमा समस्या भएका ८ सय १३ जनाको दाँत खोलिएको छ । यता, एम्बुलेन्स क्याम्पमा उपचार सम्भव नभएका ७ हजार ४ सय ३२ बिरामीलाई नोबेल अस्पतालमा ल्याएर उपचार गरिएको छ । जसमध्ये ३ सय १३ जनाको शल्यक्रिया गरिएको छ । बिरामीहरूलाई अस्पताल ल्याउने र पुर्याउने व्यवस्था पनि नोबेल अस्पतालले नै मिलाएको छ ।

यसअघि गत असार महिनामा एम्बुलेन्स क्याम्पबाट १४ हजार ५ सय ६३ बिरामीले निःशुल्क उपचार पाएका थिए । गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नोबेलले केही महिनायता स्वास्थ्य शिविरसँगै एम्बुलेन्स क्याम्प पनि सञ्चालन थालेको हो । बेलबारी–४ स्थायी घर भएका डा.शर्मा नेपाली कांग्रेसका नेतासमेत हुन् । गत प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका डा.शर्मा चुनाव हारेर पनि निरन्तर जनताको सेवामा सक्रिय छन् । उनले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई निःशुल्क उपचारको व्यवस्था मिलाउँन ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गराएका हुन् ।

शनिबारबाहेक हरेक दिन दुई टोली डाक्टरहरू एम्बुलेन्स लिएर टोलटोलमा पुगी त्यहाँ रहेका बिरामीहरूको उपचार गर्ने गरेका छन् । भिडियो एक्सरे, ल्याब टेष्ट र इसीजी त्यही गर्ने गरिएको छ । त्यहाँ उपचार सम्भव नभएका बिरामीलाई नोबेल अस्पताल ल्याई उपचार गरेर घर पुर्याउने व्यवस्था पनि डा.शर्माले नै मिलाइदिएका छन् । एम्बुलेन्स क्याम्पबाट विपन्न बिरामीहरू बढी लाभान्वित भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!