रबिन कटेल/संगालोखबर

विराटनगर । सवारी दुर्घटना बढ्दै गएपछि प्रदेश १ का १४ वटै जिल्लामा आइतवारदेखि ट्राफिक सप्ताह सुरु गरेर दुर्घटना न्यूनिकरण अभियान थालिएको छ । सडक अनुशासन कायम गर्दै सवारी दुर्घटना न्यूनिकरण गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर र १ नं.प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले संयुक्त रुपमा ट्राफिक सप्ताह आयोजना गरेको हो ।

Advertisement

प्रदेश १ का १४ वटै जिल्लामा एक सातासम्म बिभिन्न गतिविधि गरेर मनाइने सप्ताहको प्रदेश १ को राजधानी विराटनगरमा एक कार्यक्रमकाबीच आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले उद्घाटन गरेका छन् । कार्यक्रम उद्घाटन गर्दै मन्त्री कार्कीले ट्राफिक नियम उल्लंघन गर्नेलाई कसैको दवावका भरमा नछोड्न ट्राफिक प्रहरीलाई निर्देशन दिए । ‘ट्राफिक प्रहरीले मात्र दुर्घटना न्यूनिकरण गर्न सक्दैन । हामी सवैले ट्राफिक नियमको पालना गर्यौं भने दुर्घटना कम हुनसक्छ,’ ट्राफिक प्रहरीलाई मन्त्री कार्कीले भने, ‘ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई कडाई गर्नुपर्छ, नियम उल्लंघन गर्नेहरुलाई छुटाउँन सोर्ष फोर्स आउँन सक्छ, कसैको दवावका भरमा नियम उल्लंघन गर्नेलाई नछोड्नुहोस् ।’

कार्यक्रममा सामाजिक विकास मन्त्री जयराम यादवले मादक पदार्थ सेवन गर्ने, तिब्र गतिमा सवारी हुइकाउँने जस्ता गतिविधिले सवारी दुर्घटना बढेको भन्दै दुर्घटना न्यूनिकरणका लागि नैतिक आचरण र व्यवहार सुधार्नुपर्ने खाँचो औल्याए । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार विसी, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरद पोखरेल, नेपाल राष्ट्रिय यातायात व्यावसायी महासंघका प्रदेश संयोजक सरोज श्रेष्ठ लगायतले सवारी दुर्घटना न्यूनिकरण गर्न सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

बार्षिक १३ हजार ५ सय भन्दा बढी सवारी दुर्घटना हुँने गरेको नेपालमा दुर्घटनाकै कारण बार्षिक २ हजार ७ सय भन्दा बढीले ज्यान गुमाउँने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ । प्रदेश १ मा पनि सवारी दुर्घटनाको अवस्था भयाबह छ । आर्थिक बर्ष २०७६/०७७ मा सवारी दुर्घटनामा परी ३३२ जनाले ज्यान गुमाएको प्रदेश १ मा गत आर्थिक बर्ष दुर्घटनामा मृत्यु हुँनेको संख्या बढेर ४४४ पुगेको छ । चालु आर्थिक बर्षको पाँच महिनाको अवधिमा मात्रै सवारी दुर्घटनामा ज्यान गुमाउँनेको संख्या २१४ पुगिसकेको छ ।

सवारी दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले प्रदेशभरनै बिभिन्न गतिविधि गर्ने गरी ट्राफिक सप्ताह आयोजना गरेको हो । अब, एक हप्तासम्म प्रदेशभर अभियानकै रुपमा ट्राफिक गतिबिधि गरेर सप्ताह मनाइने प्रदेश १ का ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए । उनका अनुसार पहिलो दिन प्रदेशका सबै जिल्लामा दुर्घटना न्यूनिकरण सम्बन्धि व्यानर र प्लेकार्डसहित प्रभातफेरी गरिएको छ । अब, ट्राफिक स्वयंसेवक परिचालन गरी सचेतनामूलक पर्चा वितरण, स्थानीय तहहरुसँग समन्वय गरेर हरेक जिल्लामा फुटपाथ एवं सवारी पार्किङ व्यवस्थापन र सडकमै सवारी चालक र सह–चालकहरुलाई प्रशिक्षण दिइनेछ ।

त्यस्तै, विद्यालयहरुमा ट्राफिक सचेतनामुलक कक्षाहरु संचालन र सवारी चालकको स्वास्थ्य अवस्था तथा सवारीको यान्त्रीक अवस्था चेकजाँच लगायत गतिबिधि गरिने १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!