झापा । हत्या आरोपमा प्रहरीले झापाको दमकका एक युवालाई पक्राउ गरेको छ । दमक नगरपालिका–१ का २० बर्षीय अर्जुन लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।
दमक नगरपालिका–६ स्थित रक्षा फेन्सी पसलमा सेल्समेनको काम गर्दै आएका दमक–२ का २५ बर्षीय तेजप्रकाश पराजुलीको हत्या गरेको आरोपमा प्रहरीले लिम्बूलाई पक्राउ गरेको हो । मंसिर २९ गते धराबाट पानी लिएर पसलतर्फ फर्कने क्रममा पराजुलीलाई लिम्बूले दाउले काटेका थिए । रक्ताम्मे अवस्थामा रहेका पराजुलीलाई पसल धनी सन्तोष पौडेलले फेला पारी उपचारका लागि विर्तामोडस्थित बी.एण्ड.सी. अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भयो ।
लिम्बूलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा हत्या गरेको उनले स्वीकार गरेको प्रहरीले जनाएको छ । उनले पहिलेको रिसईविका कारण हत्या गरेको बयान दिएका छन् । घटनामा प्रयोग भएको दाउ, झोला, कालो रंगको जुत्ता र अन्य कपडाहरु प्रहरीले बरामद गरेको छ । पक्राउ परेका लिम्वुलाई झापा जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।