संगालोखबर सम्वाददाता
चोरी गर्ने क्रममा फुटाइएको दराज । तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा बजार नजिक घरको ढोका फुटाएर दिउँसै गरगहना र नगद चोरी भएको छ । धनकुटा नगरपालिका–७ तुलसीकुवा टोलबस्तीका शुसिल शाहको घरमा मंगलबार दिउँसो चोरी भएको हो ।

घरमा कोही नभएका बेला ढोका फोरेर दुई तोला बराबरको सुनको गहना, १३ तोला चाँदी र खुत्रुके फुटाएर केही नगद चोरी भएको पीडित शाहले बताए । ‘बिहान ढोका बन्द गरेर म पसल गए, छोराछोरी र श्रीमती आफन्तको बिहेमा गएका थिए । दिउँसो घरमा कोही थिएन,’ शाहले संगालोखबरसँग भने, ‘बेलुका ५ बजेतिर घर फर्कदा चोरले ढोका र दराज फुटाएर गरगहना र नगद लगिसकेको रहेछ ।’

Advertisement

शाह बसपार्क नजिक तरकारी र माछा पसल सञ्चालन गर्दै आएका छन् । उनी पसल गएको र घरमा कोही नभएको मौका छोपेर चोरले चुकुलको कब्जा फुकालेर ढोकाबाट घरभित्र पसेको पाइएको छ । घरभित्र रहेको दराज पनि फुटाएर दराज भित्रको गरगहना चोरी भएको हो । कोठामा रहेको खुत्रुके पनि फुटाएर चोरले नगद लगेको शाहले बताए ।

शाहले उक्त घर ६ महिना अघि किनेका हुन् । घर किन्ने क्रममा सोही सुन राखेर पैसा निकालेका थिए । सुन पसलमा पैसा चुक्ता गरेर गहना घर लगेको केही दिनभित्रै चोरी भएको बताइएको छ । चिनेको र नजिकबाट थाहा पाएकाहरुले चोरी गरेको हुनसक्ने छिमेकी सोवित श्रेष्ठ बताउँछन् ।

चोरको खोजतलास गरी कारबाहीको माग गर्दै शाहले बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । घटनाको बिषयमा अनुसन्धान गरेर चोरी गर्ने व्यक्तिको खोजी भइरहेको धनकुटाका प्रहरी निरीक्षक काँशीनाथ रेग्मीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!