- संगालोखबर सम्बाददाता

झापा । झापामा डेङ्गु रोगका विरामी फेला पर्न थालेका छन् । विर्तामोड नगरपालिकामा पाँच र मेचीनगर नगरपालिकामा चार जना डेङ्गुका विरामी भेटिएका हुन् । उनीहरु बिर्तामोडमा रहेको विर्तासिटी हस्पिटल र मनमोहन अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

Advertisement

विगत दश दिनको अवधिमा १० जना डेङ्गु रोगीको उपचार गरिएको मनमोहन अस्पतालका डा.शुवेश शौरव बताउँछन् । विगतका बर्षमा महामारीको रुपमा फैलिएको डेङ्गु पुनः देखापर्ने क्रम बढेपछि फेरी महामारी फैलने होकि भनेर सर्वसाधरणमा त्रास बढेको छ ।

विर्तामोड नगरपालिकाका डेङ्गु रोग फोकल पर्सन तुलसी पोखरेलका अनुसार वडा नम्बर ४ को रमाइलो टोलस्थित सिदार्थ होटल आसपास क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढी देखिएको छ । विशेषगरी मजदुरमा डेङ्गुको सङ्क्रमण देखा परेको छ । मेचीनगर नगरपालिकाको वडा नम्बर १०, ६ र ८ मा चार जना डेङ्गुका बिरामी भेटिएका हुन् ।

लामखुट्टेको टोकाइबाट फैलने डेङ्गु रोगका विरामी भेटिन थालेपछि पालिकाहरुले सचेतनामूलक अभियान चलाउँन थालेका छन् । भद्रपुर, दमक, विर्तामोड, अर्जुनधारा, मेचीनगर नगरपालिका र कमल तथा बुद्धशान्ति गाउँपालिकामा अभियान सञ्चालन भइरहेको छ । ड्रम, फूलदानी, गमला, कुलर, पानीका ट्याङ्कीमा डेङ्गुको लार्भा भेटिने गरेकाले त्यस्ता सामग्री प्रयोग भएको स्थानमा लार्भा नष्ट गर्न काम पालिकाले गरिरहेका छन् ।

झापामा दुई वर्षअघि डेङ्गुका ५ सय बिरामी भेटिएका थिए । त्यो बेला आधा दर्जन भन्दा बढी विरामीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!