भोजपुर । भोजपुरको कावा खोलामा निर्माणाधीन पक्की पुल भाँचिएको छ । रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ र हतुवागढी गाउँपालिका–२ रानीबास जोड्न कावा खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको पुल भाँचिएको हो ।
५ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण भइरहेको ४५ मिटर लम्बाइ, ६ मिटर चौडाइ रहेको पुल दुबैतिर पैदल हिँड्न मिल्ने गरी बनाउन लागिएको थियो । पुलको डिजाइन भूकम्प प्रतिरोधी र ८० वर्षको अवधि रहेको बताइए पनि पुल निर्माणकै क्रममा भाँचिएको छ ।