- पत्रपत्रिका खवर

काठमाडौं । एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सचिव पदका आकांक्षी अत्यधिक देखिएका छन्। नयाँ विधानले सात सचिवको व्यवस्था गरेको छ। आकांक्षी भने पाँच गुना बढी देखिएका छन्।

Advertisement

नवौं महाधिवेशनबाट पाँच सचिव निर्वाचित भएका थिए। जसमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य छन्। यीमध्ये गुरुङले महासचिव वा उपाध्यक्षमा दाबी गरेका छन्। ज्ञवाली महासचिव नभए उपमहासचिव पदका आकांक्षी छन्। विष्ट, भट्टराई, आचार्य सचिवमै दोहोरिने सम्भावना छ।

भट्टराईले चितवन पुगेर पुनः सचिवमा उम्मेदवार हुने बताएका छन्। उनले माथिल्लो पदमा जान नखोजेको प्रतिक्रिया दिए। ‘लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ। म अहिले चौतारीमा बस्दै छु। सचिव पदमा उठ्ने तयारी गरेको छु’, उनले अन्नपूर्ण पोस्ट्सित भने। अहिले नै माथिल्लो पदमा जान खोज्नु लुडोमा छिटोछिटो माथि चढेर तल झर्ने सम्भावना भएझैं हुने उनले बताए।

उपाध्यक्ष, महासचिव, उपमहासचिवमा धेरै आकांक्षी भएकाले गुरुङ र ज्ञवाली पनि सचिवमै दोहोरिनुपर्ने अवस्था आउने सक्ने नेताहरू बताउँछन्। पाँच जना दोहोरिए दुई जना मात्रै नयाँ आउने सम्भावना छ। विधानले समावेशी हुनुपर्ने भनेका कारण महिला, दलित, जनजाति, मधेसीलगायतलाई समेट्नुपर्ने अवस्था छ।

त्यसका लागि दलितबाट छविलाल विश्वकर्मा, मधेसीबाट रघुवीर महासेठ, महिलाबाट पद्माकुमारी अर्याल, डा. शिवमाया तुम्बाहाङफे, डा. विन्दा पाण्डे, राधा ज्ञवालीमध्ये आउन सक्ने सम्भावना छ। यस्तै, विष्णु रिमाल, खगराज अधिकारी, लालबाबु पण्डित, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायत सचिवका दाबेदार देखिएका छन्। रायमाझी, भट्टले उपाध्यक्ष नभए सचिवको आकांक्षा राखेका छन्। यसका साथै सचिवमा नयाँ अनुहारले पनि दाबी गरेका छन्।

यस्तै, शेरधन राई, भानुभक्त ढकाल, पार्वत गुरुङ, शेरबहादुर तामाङ, कर्ण थापा, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, मणि थापा, राजेन्द्रप्रसाद गौतम, ठाकुर गैरे, यज्ञराज सुनुवार, अरुण नेपाल, डोरमणि पौडेल, यमलाल कँडेल, हिक्मत कार्की, विशाल भट्टराईलगायत पनि सचिव पदका आकांक्षी देखिएका छन्। तर, उम्मेदवारी घोषणा गर्न भने धेरैले अध्यक्ष केपी शर्मा ओलीकै मुख ताकिरहेका छन्। यद्यपि, भित्रभित्रै तयारी भने गरिरहेका नेताहरूको भनाइ छ।
ओलीनिकट महेश बस्नेतले भने पत्रकार सम्मेलन गरी उम्मेदवार बन्ने घोषणा गरेका छन्। उनले अध्यक्ष ओलीबाट संकेत गर्ने वा आशीर्वाद दिने अवस्था नरहेको स्पष्ट पारे। ‘सबैलाई वस्तुस्थितिको विश्लेषण गरी अगाडि बढ्न सुझाव दिनुभएजस्तो लाग्छ’, उनले भने, ‘मेरो हकमा उहाँको सधैं सदासयता छँदै छ। भोलि त्यस्तो अवस्था आयो भने मैले पक्कै पनि उहाँले शुभेच्छा दिनुहुनेछ।’

नेता नेपालले सहमति गर्ने प्रत्यन्त भइरहेको बताए। ‘अधिकतम सहमित गर्ने प्रत्यन्न भइरहेको छ’, नेपालले भने, ‘कोहीले जित्ने हार्ने नहोस्, अन्तिममा पनि सहमति भएन भने हार्दिकतापूर्वक लोकतान्त्रिक प्रणालीबाट नेतृत्व चयन गर्छौं।’

नेता सुनुवारले लोकतान्त्रिक विधि होस् वा सर्वसम्मत सबैलाई सँगै लगेर न्याय दिनुपर्ने बताए। एमालेविरुद्ध चौतर्फी घेराबन्दी भएकाले सर्वसम्मत नेतृत्व चयन गर्नु सबैभन्दा राम्रो विकल्प रहेको उनको भनाइ छ। ‘पार्टीप्रति अहिले बाह्य चुनौती र घेराबन्दी छ। यो बेला सुदृढ एकताका लागि सर्वसम्मत नेतृत्व नै आजको जबरजस्त आवश्यकता हो’, उनले भने, ‘तर, सर्वसम्मत सही हुनुपर्छ, सामाजिक बनोटअनुसार नै पार्टी देखिनुपर्छ।’ – सुरेन्द्र काफ्लेले लेखेको यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!