संगालोखबर सम्बाददाता

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले सोमबार दोलखा र काभ्रेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय संघ–संस्थासँग सहकार्य गरेर दोलखाको तामाकोशी गाउँपालिका र काभ्रेको पाँचखाल नगरपालिकामा शिविर सञ्चालन गरिएको हो ।

Advertisement

दुवै शिविरमा गरी सोमबार १ हजार ९ सय २४ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । च्यामा–काठमाडौं सेवा समाजसँग सहकार्य गरेर दोलखाको तामाकोशी गाउँपालिका–६ च्यामास्थित महेन्द्र उच्च माध्यमिक विद्यालयमा दुई दिने शिविर आयोजना गरिएको छ ।

शिविरको पहिलो दिन १ हजार १ सय ९ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १९८ जनाको इसीजी, २०७ जनाको ल्याब टेष्ट र १९९ जनाको भिडियो एक्सरे गरिएको छ । दाँतमा समस्या भएर आएका ४५ जना विरामीको दाँत उखेलिएको छ । त्यस्तै, शिविरमा उपचार सम्भव नभएर अप्रेशन गर्नुपर्ने देखिएका ६५ विरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको छ ।

यता, पाँचखाल नगरपालिका वडा नं.७ सँग सहकार्य गरेर स्थानीय रामपाटी स्वास्थ्य चौकी र सहकारी विकासको भवनमा एक दिने शिविर सञ्चालन गरिएको हो । शिविरमा ८ सय १५ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको छ । त्यस्तै, १६२ विरामीको इसीजी, १८१ विरामीको ल्याब परीक्षण र १५० जना विरामीको भिडियो एक्सरे गरिएको केएमसीका जेनेरल मेनेजर दाहालले जानकारी दिए ।

उनका अनुसार शिविरमा २५ जनाको दाँत खोलिएको छ भने २० जना विरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको छ । केएमसीले बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!