संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ राम बजारका आगलागीपीडित सात परिवारलाई महालक्ष्मी नगरपालिकाले राहत वितरण गरेको छ । शुक्रबार राती आगालागी हुँदा पूर्ण क्षति भएका तीन र आंशिक क्षति भएका चार परिवारलाई महालक्ष्मी नगरपालिकाले राहत रकमसहित खाद्यान्न, लत्ताकपडा लगायत सामाग्री प्रदान गरेको हो ।

Advertisement

शुक्रबार राती करिब २ बजे स्थानीय कुलबहादुर तामाङ्गको घरमा रहेको वालकुमार श्रेष्ठको मोटरसाइकल ग्यारेजबाट सुरु भएको आगोले कुलबहादुरको घरसहित छिमेकी महेश्वर राईको घर पनि जलेर नष्ट भएको छ । अन्य छिमेकका घरमा पनि क्षति पुर्याएको छ । आगलागीपीडित कुलबहादुर तामाङ्ग, महेश्वर राई र वालकुमार श्रेष्ठको परिवारलाई नगरपालिकाले तत्काल राहत स्वरुप प्रतिपरिवार नगद १० हजार उपलब्ध गराएको छ । त्यस्तै, प्रति परिवार ४ थान त्रिपाल, तीन सेट सिरक डसना, दाल, चामल, तरकारी, नुन, चिनी लगायत खाद्यान्न सामग्री पनि उपलब्ध गराइएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले बताए ।

त्यस्तै, घर आंशिक क्षति भएका मिलन थापा, शेरबहादुर पौडेल, सुसिन्धर शाह र इन्द्रबहादुर पौडेललाई पनि प्रति परिवार नगद ५ हजार उपलब्ध गराइएको छ । उनीहरुलाई प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, महालक्ष्मी नगरपालिकाका मेयर नेपाल, उपमेयर मञ्जु अधिकारी लगायतले राहत सामाग्री वितरण गरेका हुन् । यसैबीच, आगलागीपीडित परिवारहरुलाई स्थानीयबासीले पनि बजारबाट सहयोग संकलन गरी ७५ हजार नगद उपलब्ध गराएका छन् । यता, रेडक्रस, नेपाली सेना लगायतले पनि राहत सामाग्री उपलब्ध गराएका छन् ।

शुक्रबार राती करिब २ बजेबाट सुरु भएको आगो बिहान करिब ५ः१५ बजे नियन्त्रणमा आएको हो । धनकुटा र संखुवासभाबाट गएका दमकल, प्रहरी र स्थानीयबासीले तीन घण्टापछि आगो निभाएका हुन् । आगो नियन्त्रणका लागि धनकुटा, हिले, पाख्रीवास लगायत क्षेत्रबाट प्रहरी टोली गएको थियो । महालक्ष्मी नगरपालिकाका मेयर नेपालसहितको टोली पनि राती नै घटनास्थल पुगेको थियो । आगलागीबाट करिब ७५ लाख बराबरको क्षति भएको प्रहरीको आकलन छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!